काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स आफ्नो स्थापनाको १६ औं वर्ष पूरा गरी १७ औं वर्षमा प्रवेश गरेको छ । वि.स. २०६४ चैत्र २१ गते स्थापित भइ सोही वर्षको फागुन १५ गते तत्कालीन बीमा समितिबाट लाइसेन्स पाएको यस कम्पनीले १६ वर्ष अवधिमा आफूलाई एक परिपक्व, सफल र विश्वासयोग्य बीमा कम्पनीको रुपमा उभ्याउन सफल भएको छ ।
यस १६ वर्षको अवधिमा कम्पनीले उल्लेख्य प्रगति गर्न सफल भएको छ । आर्थिक वर्ष २०८०।८१ को फागुन मसान्तसम्म कम्पनीले कुल ४१ अर्ब ३० करोड रुपैयाँ जीवन बीमा कोषमा संचिती गरेको छ । यस अवधिसम्म कम्पनीले ४६ अर्ब १० करोड रुपैयाँ लगानी गरेको छ भने कम्पनीको कुल बीमाशुल्क आर्जन (शुरुदेखि) ४९ अर्ब रुपैयाँ रहेको छ ।
त्यस्तै, चुक्ता पूँजी (सूचीकृत हुन बाँकी बोनस शेयर समेत) तीन अर्ब ३९ करोड ९८ लाख रुपैयाँ रहेको यस कम्पनीले चालु आवको फागुन मसान्तसम्म पाँच अर्ब १५ करोड ८७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।कम्पनीको देशैभर छरिएर रहेका १३९ शाखा तथा उपशाखामा ४२९ जना कर्मचारी कार्यरत छन् भने यस कम्पनीका एक लाख १३ हजार ३०० जना अभिकर्ता बीमितको घरदैलोमा पुगेर आम जनतामा बीमा सेवा उपलब्ध गराइरहेका छन्।




