जलवायु परिवर्तनबाट हुने मौसमी घटनाका कारण महिला तथा पुरुषमा यौन इच्छामा कमी हुँदै गएको एक तथ्यांकले देखाएको छ । यस्तो परिवर्तनले मानव स्वास्थ्यमा पार्ने प्रभावबारे अनुसन्धान गरिरहेको आईपास नेपालको सन् २०२३ को तथ्यांकले देखाएको हो । आईपास नेपालले कैलालीको खुटिया र अर्घाखाँची जिल्लाको बाँडगंगा नदी बेसिन छानेर सो क्षेत्रका ३५९ जना महिलामा जलवायु परिवर्तन, लैगिंक न्याय र यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारहरू बीचको सम्बन्ध बुझ्ने सम्बन्धी अध्ययन गरेको थियो । विभिन्न उमेर समूहमा गरिएको अध्ययनले सो क्षेत्रका करिब ५२ प्रतिशत महिलामा र ५३ प्रतिशत पति/साझेदारको यौन इच्छामा कमी आएको देखाएको आईपास नेपालका राष्ट्रिय निर्देशक जगदिश घिमिरेले जानकारी दिए ।
उनका अनुसार ‘अधिक खुलासा भएका पुरुष र महिलाहरूमा थप अन्वेषण गर्दा, यौन इच्छा अझ कम हुने देखिएको छ ।’ अध्ययनको क्रममा करिब तीन चौथाई महिला (७१ प्रतिशत) र उनीहरूका श्रीमान् (७३ प्रतिशत) ले गर्मीका दिनमा यौन चाहना कम भएको प्रतिक्रिया दिएको निर्देशक घिमिरेले बताए । मौसम विज्ञान, मात्रात्मक र गुणात्मक तथ्याङ्कले अध्ययन क्षेत्रमा जलवायु मापदण्डहरूमा विशेषगरी तापक्रम र वर्षामा स्पष्ट परिवर्तन भएको देखाएको छ । ‘अध्ययनले जलवायु परिवर्तनले लिङ्ग र यौन तथा प्रजनन् स्वास्थ्यको स्पष्ट सम्बन्ध देखाएको छ ।’ निर्देशक घिमिरे भन्छन्, ‘लैङ्गिक सम्बन्धमा स्रोत आश्रित र सीमान्तकृत जनसंख्या लगायत समुदायलाई संवेदनशील बनाउन आवश्यक छ ।’
आर्थिक असुरक्षा, सेवाहरूमा निर्णय लिने महिलाको स्वायत्तता र यौन इच्छाहरूमा महिलाको सहभागिता हुन आवश्यक छ । आइपास नेपालले गरेको अर्को अध्ययनले तापक्रम ग्राफबाट प्राप्त नतिजाले सबै स्टेशनहरूमा न्यूनतम तापक्रम औसत र अधिकतम तापक्रमको तुलनामा झन् बढिरहेको पाइएको छ । बाणगङ्गा नदी बेसिनमा वार्षिक वर्षा घट्दै गएको र खुटिया नदी बेसिनमा बढेको देखाएको छ । मौसमी वर्षाको प्रवृत्तिले दुवै बेसिनमा मनसुन सिजनमा वर्षा पनि कम हुँदै गएको दुवै बेसिनहरूमा पूर्व र मनसुनपछिको वर्षाको प्रवृत्ति सकारात्मक रहेपनि वृद्धिदर भने १.१ मिमी भन्दा कम रहेको देखाएको छ । अध्ययनले हिउँदको वर्षा माथिल्लो भागमा घट्ने तर तल्लो भागमा पानी बढिरहेको देखाउँछ ।
अध्ययनले देखाए अनुसार जलवायु परिवर्तनले पार्ने प्रभावहरु :-
१) बाढीले खेती गरिएको जमीन र बाली बगाउँदा उत्पादनमा कमी आउँछ र आर्थिक संकटले (श्रीमान् र श्रीमती) बीच घरमा झगडा हुन्छ । जसबाट घरेलु हिंसाको शिकार महिला हुन्छन्,
२) प्राकृतिक प्रकोपले महिला र केटीहरूलाई आफ्नै घर छोडेर अन्यत्र (क्याम्प वा छिमेकीको घर) बस्न बाध्य बनाउँछ, जसले गर्दा केही दुव्र्यवहार गर्नेहरूले यौन उत्पीडनको मौका पाउँछन्,
३) कृषि र दैनिक ज्यालामा निर्भर रहेकाहरु वर्षायाममा बाढी र पहिरोको चपेटामा पर्छन्, बालीनाली र गाईवस्तु बगाउँदा, बाढीले जीविकोपार्जन गुमाउँदा जीवन कष्टकर बनाउँछ जसबाट महिलाहरु नै प्रभावित हुने गरेका छन्,
४) घरायसी काममा महिलाहरु बढी संलग्न हुनुपर्दछ, बालबच्चा र गाईवस्तुको हेरचाह गर्नुका साथै दाउरा ल्याउनेजस्ता थप कामहरू गर्नुपर्ने हुँदा बढी जोखिममा महिला पर्दछन् ।
अक्सफामले धेरै देशहरूमा गरेको एक अध्ययनले जलवायु परिवर्तनका कारण महिला र बालबालिकाहरू घर छोड्न बाध्य भएकाले हिंसा र दुव्र्यवहारको शिकार हुने देखाएको छ । अर्को अध्ययनले देखाउँछ की जलवायु संकटका कारण महिला र केटीहरू खानाको लागि यौनव्यापार गर्न बाध्य छन्, जुन पूर्वी र दक्षिणी अफ्रिकामा भएको छ । महिनावारी र गर्भावस्थाको समयमा, महिलाहरूले बाढी, पहिरो, असिना, हावाहुरी आदिजस्ता जलवायु–प्रेरित प्रकोपहरूका कारण सफापानी र सरसफाइको अभावबाट गम्भीर स्वास्थ्य चुनौतीहरू सामना गर्छन् । विश्वव्यापी अध्ययनहरूले जलवायु परिवर्तनले यौन र प्रजनन् स्वास्थ्यमा नकारात्मक प्रभाव पारेको देखाउँछ ।
के हो जलवायु परिवर्तन ?
पृथ्वीले सूर्यबाट जति सौर्य विकीरण प्राप्त गर्दछ, त्यति नै विकीरण पुनः अन्तरीक्षमा फिर्ता पठाउँछ, जसले गर्दा पृथ्वीको वायुमण्डलको तापक्रम स्थिर रहन्छ तर कुनै कारणवश विकीरणको लेनदेनमा घटबढ हुनगई असन्तुलन हुन गएमा पृथ्वीको वायुमण्डलको तापक्रम घटबढ हुनजान्छ र जलवायुमा परिवर्तन आउँछ । हरितगृह ग्याँसका प्रमुख स्रोतहरूमा वनजङ्गलको विनाश, कोइला, खनिजजन्य इन्धनको अत्यधिक प्रयोग, औद्योगिकीकरण आदिजस्ता क्रियाकलापहरूले मिथेन, नाइट्रस अक्साइड, कार्बन डाइअक्साइजस्ता हरित गृह ग्याँस र ओजन तह विनास गर्ने क्लोरोफोलोरो कार्बनजस्ता अन्य विषाक्त ग्याँसको उत्सर्जन दिनप्रतिदिन वायुमण्डमा बढ्दै गइरहेको छ र परावर्तित विकीरणहरू वायुमण्डलमै रोकिनाले पृथ्वीको तापक्रम वृद्धि हुँदैछ ।
द्रूत गतिमा भएको औद्योगिक विकास तथा जनसंख्या बृद्धिले ल्याएका नकारात्मक असरका कारण पृथ्वीमा जलवायु परिवर्तन भइरहेको छ । यस्तो परिवर्तनका कारण पंक्षी तथा अन्य जनावरको खाद्य चक्रमा असन्तुलन हुनगई सिङ्गो पारिस्थितिक प्रणालीमा नै खलल हुने सम्भावना बढेको छ । जलवायु परिवर्तनको समस्या कार्बन डाइअक्साइडको अत्यधिक उत्पादनका कारण उच्च तथा चिसो स्थानको तापक्रम बढ्नाले झिँगा र लामखुट्टेजस्ता रोगबाहक कीरा ती भागमा पुग्ने र रोग तथा महामारी फैलिने चुनौती बढ्दै गएको छ ।
प्रतिवर्ष औसत ०.०४ डिग्री सेल्सियसका दरले नेपालमा तापक्रम बढिरहेको र यो औसत वृद्धिदर विश्वव्यापी छ । जलवायु परिवर्तनका कारण उच्च पहाडी क्षेत्रमा तापक्रम वृद्धिको दर अँझ बढिरहेको छ । यसका कारण हिमतालको निर्माण र ताल फुट्ने सम्भावना छ । विश्वमा हुने हरितगृह ग्याँसको कुल उत्सर्जनमा नेपालको हिस्सेदारी ०.०२५ प्रतिशत रहेको छ । विश्वमा उत्सर्जन हुने करिव ६० प्रतिशत कार्बन डाइअक्साइड वनजङ्गलले सोस्ने गर्दछ ।
जलवायु न्यायका लागि ७ बुँदे घोषणापत्र
जलवायु परिवर्तन सम्बन्धी काम गरिरहेको साथसाथै फाउन्डेसनले ११४ औं अन्तर्राष्ट्रिय नारी दिवस विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा मनाएको छ । सम्मेलनले जलवायु न्यायका लागि ७ बुँदे घोषणापत्र जारी गरेको छ । जलवायु परिवर्तनका कारण विश्वको सर्वोच्च शिखर सगरमाथा र खुम्बु क्षेत्रसहित अन्य हिमालहरुमा देखिएका असरहरुको बारेमा विभिन्न तहका सरकारहरुको गम्भीर ध्यानाकर्षण गराउने, खुम्बु क्षेत्रसहित नेपालका विभिन्न भागमा जलवायु परिवर्तनले महिलाको जीवनशैलीमा ल्याएका समस्या सम्बोधनका लागि राष्ट्रिय–अन्तर्राष्ट्रिय संघसंस्थाहरुसँग सहकार्य गरेर अघि बढ्ने घोषणापत्रमा उल्लेख छ ।
त्यस्तै जलवायु न्याय, अनुकूलन र न्युनीकरणका लागि स्थानीयस्तरमा पहलकदमी गर्नुका साथै त्यसमा महिलाको सहभागिता सुनिश्चित गर्ने र हिमालय क्षेत्रसहित विभिन्न ठाउँमा पर्यटन प्रवर्धन गर्दै हिमाल वरपर बढ्दो फोहोरमैला नियन्त्रण गर्ने र पुनः प्रयोग गर्न सकिने सामानलाई प्रोत्साहित गर्न सरोकारवाला निकायलाई जागरुक गराउनुका साथै जनचेतना जगाउने उल्लेख छ ।
जलवायु सम्मेलन (कोप-२८)
संयुक्त राष्ट्र संघको नेतृत्वमा संयुक्त अरब इमिरेट्स (यूएई) मा सम्पन्न २८ औं जलवायु सम्मेलन (कोप–२८) ले ‘यूएई कन्सेन्सस’ लाई ‘जीवाश्मा ईन्धन’ को भाषा समावेश छ । सम्मेलनमा ईयूसहित १९८ देशका प्रतिनीधिहरूको सहभागिता रहेको थियो । विश्वव्यापी तापक्रम औषत राख्नका लागि बलियो कार्ययोजना बनाइएको उल्लेख गरेका छन् । जारी गरिएको नयाँ ग्लोबल स्टकटेकले देशहरूलाई जीवाश्मा इन्धनबाट २०५० सम्म नेट शून्यमा पुग्न आग्रह गरेको छ । कोप–२८ प्रेसिडेन्सीले पहिलो पटक राष्ट्रहरूलाई जलवायु परिवर्तनको नराम्रो प्रभावबाट बच्न जीवाश्मा इन्धनबाट टाढा रहन सुझाएको छ ।
पारिस्थितिक प्रणालीमा नै प्रभावः वरिष्ठ अनुसन्धान अधिकृत डा. धिमाल
नेपाल स्वास्थ्य अनुन्धान परिषद्का प्रमुख वरिष्ठ अनुसन्धान अधिकृत डा. मेघनाथ धिमाल भन्छन्, ‘कुनै समय जलवायु परिवर्तनलाई सामान्य रुपमा लिइन्थ्यो, अहिले आएर यसले पुरै पारिस्थितिक प्रणालीमा नै प्रभाव पारेको छ ।’ जलवायुले परिवर्तनले कुनै व्यक्ति विशेषलाई मात्र प्रभाव नपारेकोजस्तो लागेपनि सम्पूर्ण जीबलाई नै प्रभाव पार्दछ । लामो समय वाहिर तातो हावामा काम गर्ने पुरुषमा यसले झनै प्रभाव गर्दछ ।
त्यसैगरी महिलाको प्रजनन् स्वास्थ्यमा समस्या देखाएको छ । नेपाल, भारत र पाकिस्तानका २ लाख व्यक्तिमा गरिएको सर्वेक्षणले १ डिग्री सेन्टिग्रेट तापक्रम बढ्दा ४.६५ प्रतिशत इन्टिमेट पार्टन भ्वाइलेन्स हुने गरेको तथ्यले देखाएको वरिष्ठ अनुसन्धान अधिकृत डा.धिमालले बताए ।
उनले जलवायु परिवर्तनले महिलाहरुमा भ्रुण खेर जाने, समय नपुगी बच्चा जन्मिने तथा पाठेघरमा समस्या देखिने बताए । प्राकृतिक रुपमा भन्दापनि मानव सिर्जितका कारण जलवायुमा परिवर्तन आउने भएकाले न्युनीकरणका लागि मानव व्यवहारमा परिवर्तन गर्नुपर्ने वरिष्ठ अनुसन्धान अधिकृत डा. धिमालको सुझाव छ ।
जलवायु परिवर्तन एक प्रमुख विश्वव्यापी खतराको रूपमा विकसित भइरहेको छ । हरितगृह ग्याँसहरूले पृथ्वीको तापक्रम बढाउने गरेको छ । भूकम्प, बाढी, पहिरो र खडेरीजस्ता धेरै प्राकृतिक प्रकोपको जोखिममा रहेका जलवायु परिवर्तन (ग्लोबल क्लाइमेट रिस्क इन्डेक्स–२०२१) को जोखिममा रहेका देशहरूमा नेपाल १० औं स्थानमा छ । जलवायु परिवर्तनका कारण हुने अत्यधिक मौसमी घटनाहरूमा महिलाहरु सबैभन्दा बढी प्रभावित हुने गरेका छन् । विश्वमा जलवायु परिवर्तनको प्रभाव घटाउनका लागि बढीमात्रामा वृक्षारोपण गर्नुपर्ने बिज्ञहरु जोड दिन्छन् ।
- नवीन सन्देशबाट
प्रतिकृया दिनुहॊस