सेन्ट जेभियर्स, बूढानीलकण्ठ र सेन्ट मेरिजलाई शिक्षामन्त्रीले भनिन्- पहुँचका आधार विद्यार्थी भर्ना नगर्नुस्

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले भर्ना प्रक्रिया पारदर्शी र विश्वसनीय बनाउन सेन्ट जेभियर्स, सेन्ट मेरिज र बूढानीलकण्ठ स्कुलका प्रिन्सिपलहरूलाई आग्रह गरेकी छन् । ती विद्यालयले नयाँ शैक्षिक सत्रका लागि भर्ना आह्वान गरेका बेला प्रिन्सिपलहरूलाई मन्त्रालयमै बोलाएर मन्त्री श्रेष्ठले भनसुन र पहुँचका आधारमा नभई निर्धारित विधि र प्रक्रियालाई थप विश्वासिलो बनाएर योग्यताका आधारमा भर्ना लिन भनेकी हुन् ।

‘ती विद्यालयले भर्नाका लागि आवेदन आह्वान गरेपछि धेरैले तपाईँहरूको त कोटा हुन्छ, भनिदिनु पर्‍यो भनेर दबाब दिइरहनु भएको छ । उहाँहरूको भनाइअनुसार मन्त्री, सचिव, महानिर्देशक, जिल्लाका प्रशासन र प्रहरी प्रमुखलगायतको कोटाका आधारमा भर्ना हुन्छ रे !’ मन्त्री श्रेष्ठले भनिन्, ‘विगतमा त्यस्तो विकृति थियो भने अब अन्त्य गर्नुपर्छ ।’

छलफलमा तीनवटै विद्यालयका प्रिन्सिपलले भर्ना छनोट प्रक्रियाबारे जानकारी गराउँदै विगतमा प्रधानमन्त्रीसम्मको तहबाट दबाब आएको जानकारी गराएका थिए । मन्त्री श्रेष्ठले विगतमा जे भए पनि अबदेखि पहुँचका आधारमा भर्ना नलिन र स्थानीय सरकारसँग पनि पर्याप्त समन्वय गर्न आग्रह गरिन् । ‘पहुँचको आधारमा दबाब र प्रभावमा परेर होइन बरु गरिब र निम्नस्तरका विद्यार्थीलाई प्राथमिकता दिनुस्, पहुँचका आधारमा भर्ना हुन्छ भन्ने भाष्यलाई चिर्नैपर्छ’, उनले भनिन् । मन्त्री श्रेष्ठले आफ्नो वा मन्त्रालयको नाम दुरुपयोग गरेर कसैले भर्नाका लागि दबाब दिए जानकारी गराउन प्रिन्सिपलहरूलाई आग्रह गरिन् ।

छलफलमा सेन्ट जेभियर्सले चार वर्षअघिदेखि नै गोलाप्रथाबाट भर्ना लिने गरेको, सेन्ट मेरिजले अघिल्लो वर्ष अभिभावकसँगको अन्तरक्रियाका आधारमा भर्ना लिएको र बूढानीलकण्ठले परीक्षाले निर्धारण गरेको योग्यतामा आधारमा भर्ना लिने गरेको जानकारी प्रिन्सिपलहरूले दिए । मन्त्री श्रेष्ठले गोला प्रथाबाट भर्ना लिने प्रक्रियालाई निरन्तरता दिएर थप विश्वसनीय बनाउन पनि आग्रह गरेकी छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

आज समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । अरुलाई प्रभावित पारेर काम बन्नेछ । लाभदायी यात्रा पनि हुनेछ ।

प्रतिकृया दिनुहॊस