काठमाडाैं । जुभिङका ल्हाक्पा गेलु शेर्पा सबैभन्दा छोटो समयमा सगरमाथा आरोहण गर्ने आरोही बन्न सफल भएका छन् । उनले सन् २००३ मे २५ का दिन १० घण्टा ५६ मिनेट ४६ सेकेण्डमा सगरमाथाको आरोहण गरी विश्व कीर्तिमान राखेका थिए ।
तर, सन् २००४ मे २१ मा दोलखाका पेम्बा दोर्जी शेर्पाले सगरमाथाको सबैभन्दा छिटो आरोहण गरेको भनी दावी गरेका थिए । पेम्बाले ८ घण्टा १० मिनेटमा आरोहण गरी विश्व कीर्तिमान कायम गरेको दावी गरेका थिए । सोही दावी अनुसार पर्यटन विभागले उनलाई ‘स्पीड आरोही’को प्रमाणपत्र समेत प्रदान गरेको थियो । प्रमाणपत्र पाएपछि पेम्बाले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम समेत दर्ता गराएका थिए ।
पेम्बाले झुठो प्रमणपात्र पेश गरी विश्व कीर्तिमानी कायम गरेको दावी गरेपछि जुभिङका लाक्पा गेलुसहितको आरोही समूहले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । विभागका कर्मचारीलाई विपक्षी बनाई दायर गरिएको रिट उपर सुनुवाई गर्दै सर्वोच्च अदालतले २०७४ मंसिर १२ गते पेम्बा दोर्जी शेर्पाको प्रमाणपत्र खारेज गर्न आदेश दिएको थियो ।
आरोहणपछि पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ को नियम ३० सँग सम्बन्धित अनुसूची–११ बमोजिम सम्पर्क अधिकृतले पेस गर्ने प्रतिवेदनमा सोही अनुसूचीको खण्ड २३ अनुसार पर्वतारोहीले यात्रा गरेको महत्त्वपूर्ण ठाउँको फोटो, पर्वतारोही दलका सदस्यसमेत उपस्थित भएको सगरामाथा आधार शिविरको फोटोसहितको प्रतिवेदन बुझाउनुपर्छ ।
तर दोलखाका पेम्बाको आरोहणमा पर्वतारोहणसम्बन्धी नियमावलीसँग मेल नखाएको भन्दै कीर्तिमान झुठो ठहर गरी सर्वोच्चले खारेज गरेको थियो ।



