राष्ट्रियसभा निर्वाचन आज, ९ बजेदेखि मतदान

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचन हुँदैछ । फागुन २० गतेबाट रिक्त हुन लागेका २० पदमध्ये १९ पदका लागि आज हुन लागेको हो ।

एक पदमा भने राष्ट्रपतिबाट मनोनयन हुनेछ । मतदान बिहान ९ देखि दिउँसो ३ बजेसम्म हुनेछ । राष्ट्रिय निर्वाचनका मतदाता प्रदेशसभा सदस्य र नगरपालिकाका प्रमुख–उपप्रमुख, गाउँपालिका अध्यक्ष–उपाध्यक्ष हुन् ।

निर्वाचनका लागि कुल दुई हजार ४७ मतदाता रहेका छन् । जसमध्ये कोसीमा कुल ३६७ मतदाता छन् । मधेसमा ३७४, वाग्मतीमा ३४७ मतदाता रहेका छन् । गण्डकीमा २३०, लुम्बिनीमा ३०५, कर्णालीमा १९६, सुदूरपश्चिममा २२८ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा सात प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र कायम गरिएको छ ।

निर्वाचन आयोगका अनुसार कोशी प्रदेशको विराटनगर, मधेस प्रदेशको जनकपुर, बागमती प्रदेशको हेटौडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा दुई दुई वटा मतदान केन्द्र स्थापना गरिएको छ । प्रदेशसभा सदस्यका लागि एउटा र पालिका प्रमुख उपप्रमुखका लागि एउटा गरी हरेक प्रदेशमा दुई दुई वटा मतदान केन्द्रको व्यवस्था गरिएको जनाइएको छ ।

सातै प्रदेशमा हुने निर्वाचनका लागि ६३ जना कर्मचारी खटाइएको छ । राष्ट्रियसभा निर्वाचनका लागि सबै प्रदेशमा निर्वाचनको कार्यालय स्थापना भएको छ । जिल्ला न्यायाधीशको नेतृत्वमा सबै निर्वाचन केन्द्रमा ९–९ जना कर्मचारीको व्यवस्था गरिएको छ । निर्वाचन हुने कलस्टर अनुसार कम्तीमा ७ र बढीमा १० जना कर्मचारी एउटा मतदान केन्द्रमा रहने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलको भनाइ छ । आज बेलुका ७ बजेसम्म मत परिणाम आइसक्ने निर्वाचन आयोगको अपेक्षा छ ।

‘एक– डेढ घण्टा कागजपत्र, मुचुल्का लगायतको औपचारिकता पुरा गरिन्छ । राजनीति दल र उम्मेदवारका प्रतिनिधि बसेर केही छलफल गर्ने काम गर्छन् । त्यसपछि मतगणना सुरु हुन्छ । आज बेलुका ६ ७ बजेसम्ममा नजिता आइसक्ने आयोगको अपेक्षा छ,’ उनले भने ।

पौडेलका अनुसार प्रदेशसभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र पालिका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रको व्यवस्था गरिएको छ । निर्वाचन आयोगका अनुसार सातै प्रदेशबाट ५ सय ४९ प्रदेशसभा सदस्य र १४ सय ९८ पालिका प्रमुख उपप्रमुखले भोलि राष्ट्रियसभा निर्वाचनका लागि मतदान गर्न पाउने छन् । ५५० जना प्रदेशसभा सदस्य मध्ये एक जनाको निधन भएको छ ।

यस्तै १५०६ जना पालिका प्रमुख उपप्रमुख मध्ये ४ जनाको निधन र ४ जना निलम्बनमा परेको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रियसभा सदस्यको पदका लागि मतदाता रहेका प्रदेश सभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुनेछ । निर्वाचनमा हाल कायम प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख-उपप्रमुख गरी दुई हजार ४७ मतदाता गरी कुल मतभार ५७ हजार ५५९ हुनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रोकिराखेको टिपरमा बाइक ठोक्किँदा ओभरसियरको मृत्यु

विराटनगर । मोरङको ग्रामथानस्थित सडकमा रोकेर राखेको टिपरमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा सब इन्जिनियरको मृत्यु …

प्रतिकृया दिनुहॊस