काठमाडाैं । ‘नेपाली टोपी: नेपाली पहिचान’ भन्ने मूल नाराका साथ ११औं नेपाली टोपी दिवस भव्यरुपमा मनाएको छ । जागरूक युवा अभियान नेपालले हरेक अंग्रेजी नयाँ वर्षको अवसर पारेर सोमबार वसन्तपुरमा भेला भएर ११ औँ नेपाली‘टोपी दिवस’ मनाएको हो ।
सदियौँदेखि नेपाली पहिचानको रूपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यू चोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचीबाट हटाएपछि नेपाली टोपी (ढाका टोपी, भादगाउँले टोपी) लाई राष्ट्रिय पहिचानकारुपमा घोषणा गरियोस् भन्ने मागसहित नेपाली टोपी दिवस मनाउँदै आइएको छ ।
विगतदेखि नै नेपालीलाई चिनाउँदै आएको ढाकाटोपी र भादगाउँले टोपीलाई राष्ट्रिय पहिचानकारुपमा घोषणा गर्न संस्थाले सरकारसँग जोडदार माग गरेको छ । नेपाल बहुजातीय र बहुसांस्कृतिक मुलुक भएकाले यहाँ थुप्रै जातीय टोपीहरू पनि छन् । त्यसैले ती टोपीहरूको संरक्षण र प्रवर्द्धनमा ध्यान दिन पनि सरकारसँग जागरूक युवा अभियान नेपालले माग गरेको छ ।
यस वर्ष पनि जनवरी १ (पुस १६) का दिन सम्भव भएसम्म दौरा सुरुवाल टोपी र गुन्यूचोली लगाउन र त्यो सम्भव नभए नेपाली टोपी अवश्य लगाउन संस्थाले सबैमा अनुरोध गरेको छ । नेपाली टोपीलाई राष्ट्रिय पहिचानका रूपमा घोषणा गराउनको लागि सामाजिक सञ्जालमार्फत पनि सरकारलाई दबाब दिन संस्थाले आग्रह गरेको छ ।
जागरूक युवा अभियान नेपालका अभियन्ताहरूमा घनश्याम श्रेष्ठ, रामजी बलामी, जनार्दन पौडेल, शिव धिताल, अज्मत अलि, ज्ञानमणि नेपाल कालोटोपी, जनक कार्की, लक्ष्मण लम्साल, वसन्त हुमागाईँ, शाेभराज बराल, निराेज थापा र राजेश खत्री रहेका छन् ।
प्रतिकृया दिनुहॊस