काठमाडाैं । तिहार रङ, फूल, बत्ती र देउसीभैलोको पर्व । पहिले मादल ठोकेर, लेघ्रो तानीतानी भट्याउँदै देउसी खेल्ने चलन थियो। तर नयाँ प्रविधि र बदलिँदो जीवनशैलीले देउसी खेल्ने तरिका पनि फेरिएको छ । बलिराजाको अनुमति लिएर आएको जानकारी अब भट्याउनेले दिँदैनन् । बरु लाउडस्पिकरमा गीत घन्काउँदै आउँछन् । ढोकामा आइनपुग्दै सोध्छन्, ‘हजुर, वाइफाइको पासवर्ड के हो?’
सहरमा त मुखले भट्याउने चलन नै हराइसक्यो । रेकर्डेड देउसीभैलो सुनाइन्छ । ‘पंक’ फेसनमा सजिएका युवायुवती भड्किला अंग्रेजी गीत बजाएर नाच्छन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा दिनेश गौतमले लेखेका छन्। आपसमा हाँसखेल, रमाइलो र ठट्टा गर्ने बानी छुट्दै गएको छ । इन्टरनेटमा उपलब्ध सामग्रीले आत्मीयता खोसेको छ । पुस्तान्तरणसँगै चाडबाड मनाउने शैली पनि बदलिएको छ । यसलाई स्वाभाविक रूपमा हेर्नुपर्ने संस्कृतिविद् तेजेश्वरबाबु ग्वंग बताउँछन्।
‘समाजलाई विविध पक्षले प्रभाव पारेको हुन्छ । विज्ञानप्रविधिमा भएको चामत्कारिक विकासले नयाँ पुस्तालाई प्रभावित गरेको छ । त्यसैको परिणाम अहिले देखिएको हो।’ अचेल देउसीभैलोको महत्व खेल्नेले नै भेउ पाउँदैनन् । आशीर्वाद दिँदाको शब्दभाव, लय, शैली र बजाइने बाजागाजा लोपजस्तै भइसकेका छन् । ८४ वर्षीय ग्वंग भन्छन्, ‘परम्परा र शैली सांस्कृतिक परम्परावादबाट सांस्कृतिक गतिशीलतामा रूपान्तरण भएको छ।’
प्रविधि मात्र होइन, सामाजिक, आर्थिक, शैक्षिक र राजनीतिक पक्षले पनि नयाँ पुस्तालाई मनोवैज्ञानिक प्रभाव पारेको उनी बताउँछन्। संस्कृतिविद् सत्यमोहन जोशी देउसीभैलो खेल्ने र आशीर्वाद दिने शैली फेरिँदै गएको स्वीकार्छन् । तर विकृति भित्रिएको भन्ने आरोपसँग उनी असहमत छन् । ‘शैली फरक भएको हो । सोच उही नै छ,’ उनी भन्छन्। तिहारलाई दाजुभाइ–दिदीबहिनीबीच मात्र होइन, छिमेकीसँगको सम्बन्धमा समेत न्यानोपन ल्याउने चाडका रूपमा लिइन्छ । तर मोबाइलमा झुन्डिने र इन्टरनेटमा मात्र रम्नेलाई यसको वास्ता हुँदैन । यो समस्याबाट किशोरकिशोरी बढी प्रभावित छन्।
‘छरछिमेक र दाजुभाइ–दिदीबहिनीबीच भएका मनमुटाव सुल्झाउने उचित समय हो यो । तर यसबेला पनि वाइफाइमै ध्यान जानु राम्रो होइन,’ मुटु रोग विशेषज्ञ प्रकाशराज रेग्मी चिन्ता व्यक्त गर्छन्। ‘वाइफाइ र मोबाइल भएपछि आपसमा मीठो कुराकानी गर्ने चलन घटेको छ । आत्मीयता साटासाट समेत हुन छोडिसक्यो,’ उनी भन्छन् । भेटघाट र कुराकानीले तनाव घटाउन सहयोग पुग्ने बताउँछन् डा. रेग्मी । थप्छन्, ‘देउसीभैलो खेल्दा होस् वा भाइटीकाको बेला, मोबाइल बन्द गर्नु उपयुक्त होजस्तो लाग्छ।’
प्रतिकृया दिनुहॊस