काठमाडौं विश्वविद्यालयले स्थापना दिवस तथा दीक्षान्त कार्यक्रम आयोजना गर्ने

धुलिखेल । काठमाडौं विश्वविद्यालयले यस हप्ता आफ्‌नो स्थापना दिवस तथा दीक्षान्त समारोहका कार्यक्रम आयोजना गर्ने भएको छ । विश्वविद्यालयले ३२औं स्थापना दिवसको अवसर पारेर सोमबार स्थापना दिवस तथा बुधबार, मङ्सिर २७ गते दीक्षान्त कार्यक्रम आयोजना गर्न लागेको हो ।

विश्वविद्यालयले यसबारे पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । स्थापना दिवस समारोहमा विशिष्ट तीन विशिष्ट विद्वानहरूको अभिनन्दन गर्ने कार्यक्रम रहेको विश्वविद्यालयले जनाएको छ । अभिनन्दित हुनेमा काठमाडौं विश्वविद्यालयको चिकित्साशास्त्र विभागका संस्थापक डीन डा. नरेन्द्रबहादुर राणा, जर्मन कला साधक तथा काठमाडौं विश्वविद्यालयको स्कुल अफ आर्टसको सङ्गीत विभागका संस्थापक विभागका अध्यक्ष प्राध्यापक गर्ट माथियास वेग्नर, र पूर्वसभामुख दमननाथ ढुङ्गाना छन् । समारोहमा डा. न्हुछेरत्न तुलाधरको पुस्तकसमेत विमोचन हुने भएको छ ।

यसैगरी, काठमाडौं विश्वविद्यालयको २९औं दीक्षान्त समारोह (पहिलो चरण) मङ्सिर २७ गते बुधबार बिहान ११ बजे काठमाडौं विश्वविद्यालयको केन्द्रीय परिसर धुलिखेलमा हुने भएको छ । कार्यक्रममा प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षता, शताब्दी पुरुष वरिष्ठ चिकित्सक डा. गौरीशंकरलाल दासको प्रमुख आतिथ्य र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति अशोककुमार राई र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमीला कुमारीको उपस्थिति रहनेछ ।

समारोहमा काठमाडौं विश्वविद्यालयबाट स्कुल अफ आर्ट्स, एजुकेसन, इन्जिनियरिङ, ल, म्यानेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स विधाका पीएचडी, डिएम र एमसिएच तहका १८ जना, एमफिल तहका ३८ जना, स्नातकोत्तर तहका ३१४ जना, पिजिडी तहका ५२ जना, र स्नातक तहका १ हजार ४ सय १६ जना सहित जम्मा १ हजार ८ सय ३८ जना विद्यार्थी दीक्षित हुनेछन् ।

ती मध्ये आर्टसका २०९ जना, एजुकेसनका २२५ जना, इन्जिनियरिङका ३९ जना, लका ३९ जना, मेनेजमेन्टका ४४८ जना, मेडिकल साइन्सेजका ७७७ जना र साइन्सका १०१ जना रहनेछन् । दीक्षित हुने विद्यार्थीहरू मध्ये पुरुषको प्रतिशत ४६.०३ (६ सय ४६ जना) तथा महिलाको प्रतिशत ५३.९७ (९ सय ९२ जना ) रहनेछ । दीक्षित हुने मध्ये विदेशी विद्यार्थीहरू ६.१५ प्रतिशत रहेका र तीमध्ये भारत, श्रीलङ्का र मालदिभ्स गरी ३ देशका ११३ जना विदेशी विद्यार्थी रहनेछन् ।

काठमाडौं विश्वविद्यालयले इतिहासमा पहिलोपटक स्कुल अफ इन्जिनियरिङ अन्तर्गत Master of Technology in Artificial Intelligence मा १ जनालाई, स्कुल अफ मेडिकल साइन्सेज अन्तर्गत Master of Science in Midwifery Nursing मा ८ जनालाई र स्कुल अफ एजुकेसन अन्तर्गत Master in Higher Education मा ९ जनालाई उपाधि प्रदान गर्नेछ ।

उनान्तीसौं दीक्षान्त समारोहको पहिलो चरणको कार्यक्रमसम्ममा काठमाडौं विश्वविद्यालयबाट ४३ हजार १ सय २३ जना उत्तीर्ण भएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सामाजिक सञ्जालबाट अर्काको चरित्र हत्या गरेको भन्दै धनगढीकी जानकी पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको अभियोगमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । …

प्रतिकृया दिनुहॊस