पछिल्लो १० दिनमा ३२ किलो सुन बरामद

काठमाडौँ । सुनको माग र मूल्य बढिरहँदा आपूर्ति कम छ । अहिले नेपालमा दैनिक २० किलो सुन आयात गर्न पाइन्छ । नेपालमा राष्ट्र बैंकले तोकेको कोटा अनुसारको परिमाणमा मात्रै सुन आयात गर्न पाइन्छ । तर, बजारमा माग भने ३० देखि ३५ किलो रहेको सुनचाँदी व्यवसायीहरू बताउँछन् ।

अझै मंसिरजस्तो लगनको महिनामा यस्तो माग थप बढ्ने गरेको छ । कोटाभन्दा धेरै सुनको माग भए पनि बजारमा खासै सुन अभाव हुँदैन । अनि कसरी पूर्ति हुन्छ त ? बजार माग धान्न अवैधानिक रूपमा नेपाल भित्र्याइएको सुन प्रयोग हुने गरेको पाइएको छ । यसलाई पछिल्लो समय समातिएका तस्करीको सुनले अझै बल दिन्छ ।

पछिल्लो १० दिनमा करिब ३२ किलो तस्करीको सुन बरामद भएको छ । गत शुक्रबार मंसिर १५ गतेयता प्रहरीले विभिन्न स्थानबाट बरामद गरेको सुनको परिमाण हेर्दा ३२ किलो हाराहारी हुन आउँछ शनिबार रातिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद भएको छ । भन्सारबाट बाहिरिसकेपछि प्रहरीको टोलीले सुन बरामद गरेको हो ।

सुनसहित इजिप्टका नागरिक सरिफ मोहमद लासिम पक्राउ परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले बताए । ‘शंकास्पद लागेपछि चेकजाँच गर्ने क्रममा भन्सार एरिया कटेपछि उनलाई पक्राउ गरिएको हो,’ उनले भने ।

क्लोज सर्किट (सीसी) क्यामरा फुटेजका आधारमा प्रहरीले इजिप्टका ती नागरिकसँग संलग्न भएको आशंकामा थप दुई सुडानी नागरिकहरुलाई पनि पक्राउ गरेको छ । यद्यपि, उनीहरुले आफ्नो संलग्नता स्वीकारेका छैनन् । उनीहरुबारे अनुसन्धानबाट खुलेअनुसार गर्ने गरी हाललाई नियन्त्रणमै राखिएको प्रहरीको भनाई छ ।

सुनसहित समातिएका इजिप्टका नागरिक फ्लाई दुबईको एफजेड ५७३ विमानमार्फत ११ः५१ मा काठमाडौं अवतरण गरेका थिए । यही विमानमार्फत गोरखाका चन्द्र घले १४ किलो सुनसहित बिहीबार ११ः४० बजे अवतरण गरेका थिए । विमानस्थल भन्सार कार्यालयले विशेष सूचनाका आधारमा घलेलाई १४ किलो सुनसहित पक्राउ गरेको थियो ।

यसअघि मंसिर १५ गते शुक्रबार प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले रसुवा नाकाबाट आएको दुई किलो अवैध सुन बरामद गरेको थियो । सोही दिन शुक्रबार दिउँसो काठमाडौंको नागढुंगाबाट पनि दुई किलो सुनसहित दुईजना पक्राउ परेका छन् । कार्यालयले तीन दिनअघि (मंगलबार) न्यूरोडको सुन पसलमा छापा मारेर झण्डै ८ किलो अवैध सुन समेत बरामद गरेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आइतबार उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा

काठमाडौं । सरकारले आइतबार काठमाडौं उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ । आइतबार रातो …

प्रतिकृया दिनुहॊस