काठमाडौँ । सरकारले एनसेल प्रकरण छानबिनको लागि पाँच सदस्यीय समिति गठन गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले पूर्व महालेखापरीक्षक टंकमणि शर्माको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरेको हो ।
समितिको सदस्यहरूमा फणीन्द्र गौतम, बाबुराम भण्डारी, रितेशकुमार शाक्य रसुजनकुमार काफ्ले छन् । समितिलाई यो प्रकरणको अध्ययन गरी प्रतिवेदन पेश गर्न ३० दिनको कार्यादेश दिइएको बताइएको छ ।
यसअघि बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरू सहभागी बैठकले एनसेल प्रकरण गहिरो गरी छानबिन गर्न समिति गठन गर्न सरकारलाई सुझाव दिएको थियो । प्रक्रिया पुरा नगरी एनसेल खरिद बिक्री गरेर चलखेल भएको भन्दै सरकारले असन्तुष्टि जनाएको छ ।
मलेसियन कम्पनी आजियाटाले गत शुक्रबार एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट युके लिमिटेडलाई पाँच करोड अमेरिकी डलर (६ अर्ब ६६ करोड रूपैयाँ) मा बिक्री गरेको बताएको थियो ।




