एनसेलको सेयर बिक्री शंकास्पद, गहिरो अनुसन्धान जरुरी छ : महामन्त्री शर्मा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एनसेलको सेयर बिक्री शंकास्पद भएको बताएका छन् । महामन्त्री शर्माले सामाजिक सञ्जालमा टिप्पणी गर्दै ६ वर्षपछि सरकारको स्वामित्वमा आउन लागेको एनसेलको खरिदबिक्रीशंकास्पद भएको दाबी गरेका हुन् ।

शर्माले यसलाई रोकेर यो अपार करछलीको गहिरो अनुसन्धान जरुरी भएको बताएका छन् । उनले अनियमितताविरुद्ध सरकार, प्रतिपक्ष, प्रेस र नागरिक सम्पूर्ण रूपले एकढिक्का उभिने संकेत सकारात्मक भएको उल्लेख गरे ।

उनले भनेका छन्- ‘अनियमितताविरुद्ध सम्पूर्ण एकताको दृष्टिका साथ,सरकार, प्रतिपक्ष, प्रेस र नागरिक सम्पूर्ण रूपले एक ढिक्का उभिने संकेत सकारात्मक छ । बाह्य लगानीलाई नेपालमा सहज वातावरण नरहेको आक्षेप खारेज गर्न संगठित पहल गरौं। अत्यावश्यक ऐन संशोधन र परिमार्जन गरेर कार्यान्वयनमा नल्याउनुको कमजोरी आत्मसात् गर्दै जबाफदेहीपूर्ण ढंगले कार्य गरौं ।’

उनले बाह्य लगानीको थप सुरक्षित वातावरण निर्माण गर्दै सकारात्मक सन्देश सम्प्रेषण गर्नुपर्नेमा जोड दिएका छन् । शर्माले पहिलेको तस्बिर सार्वजनिक गर्दै भने, ‘एनसेलले पुँजीगत लाभकरनतिर्ने प्रपञ्च गर्दा त्यो बेला हामीले अघि बढाएको अभियानको नाम थियो- #No_Tax_No_Ncell । दबाब र मुद्दापछि अन्ततः उ झुक्न बाध्य भयो। अहिलेको प्रकरणमा सरकार र दलहरू कठोर हुन जरुरी छ । जनदबाबको स्वतःस्फूर्त साथ फेरि पनि साथमा हुनेछ ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री