काठमाडौं । एनआइसी एसिया बैंकले सबै प्रकारका कर्जामा ३ प्रतिशतभन्दा बढी प्रिमियम नलिने भएको छ । बैंकले देशको वर्तमान आर्थिक अवस्थाका कारण आफ्ना ऋणी ग्राहकमा समस्या परेको निष्कर्षका साथ सम्पूर्ण प्रकारका कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत कायम गरेको हो ।
यो निर्णयभन्दा पहिले ऋणीले लिएको कर्जामा पनि ३ प्रतिशतभन्दा बढी प्रिमियम भएका ग्राहकको कर्जामा ३ प्रतिशत प्रिमियम कायम गरिसकेको बैंकले जनाएको छ । जसअनुसार बैंकको मंसिर महिनाको औसत आधारदर १०.७ प्रतिशत रहेकामा त्यसमा ३ प्रतिशत प्रिमियम थप गरी कर्जाको अधिकतम ब्याजदर १३.७ प्रतिशत कायम गरिएको उल्लेख छ ।बैंकले ल्याएको यो नयाँ प्रिमियम दर फोन लोन र क्रेडिट कार्डबाहेक बैंकबाट प्रवाह भएका घर कर्जा, व्यवसाय कर्जा, सवारी कर्जा, सेयर कर्जालगायतका सम्पूर्ण कर्जामा लागू हुने व्यवस्था गरिएको बैंकले जनाएको छ ।
आर्थिक गतिविधि संकुचन भइरहेको समयमा ग्राहकमा परेको आर्थिक भारलाई कम गर्ने उद्देश्यले बैंकले ल्याएको यस सहुलियतबाट ब्याजदर कम हुन गई कर्जा भुक्तानीमा सहज हुने बैंकले विश्वास व्यक्त गरेको छ । बैंकले हाल देशभरमा तीन सय ६० शाखा, ६ सय ५६ एटिएम, एक सय ११ विस्तारित काउन्टर तथा ५५ वटा शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिइरहेको जनाएको छ ।
वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लामा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको बैंकले जनाएको छ ।
प्रतिकृया दिनुहॊस