काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि सर्वियाका उद्योगी तथा व्यवसायीलाई उत्प्रेरित गरिदिन आग्रह गरेका छन् । सर्विया भ्रमणमा रहेका मन्त्री पुन र सर्वियाका प्रथम उपप्रधानमन्त्री इभिका डाकिकबीचको भेटवार्तामा मन्त्री पुनले यस्तो आग्रह गरेका हुन् ।
‘युरो–एसिया इनर्जी सेक्युरिटी फोरम’मा भाग लिन सर्विया पुगेका ऊर्जामन्त्री पुन र उपप्रधानमन्त्री इभिकाबीच द्विपक्षीय हितका विषयमा छलफल हुनुका साथै दुवै देशका बीचमा आगामी दिनमा गर्ने सहकार्यका विषयमासमेत कुराकानी भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीको सचिवालयले जनाएको छ ।
मन्त्री पुनले केही समय पहिले उपप्रधानमन्त्री इभिकाले गरेको नेपाल भ्रमणप्रति नेपाल सरकार, परराष्ट्रमन्त्री र आफ्नो व्यक्तिगत तर्फबाट धन्यवादसमेत व्यक्त गरेका थिए । भेटमा मन्त्री पुनले नेपाल र सर्विया असंलग्न आन्दोलनका सहयात्री मुलुक भएको भन्दै आगामी दिनमा समेत विश्व मञ्चमा प्रस्तुत हुँदा साझा धारणा बनाएर जाने प्रस्तावसमेत राखेका थिए ।
सरकारले १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य अघि सारेको भन्दै त्यसमा लगानी जुटाउन आफूले पहल गरिरहेको धारणा उनले त्यस क्रममा राखेका थिए ।
प्रतिकृया दिनुहॊस