११ दिनसम्म पनि अज्ञातै छ मेजर पण्डितको अवस्था

काठमाडौं । आज बुधबार, भदौ २० । डोल्पाको सदरमुकाम दुनैस्थित नन्दबक्स गणका गुल्मपति विमल पण्डित सम्पर्कविहीन भएका ११ दिन पुग्यो । जिल्लास्थित तिनवटै सुरक्षा निकाय र स्थानीयको संयुक्त टोलीले खोजी गरे पनि अहिलेसम्म उनको अवस्था अज्ञात नै छ ।

उनको खोजीमा परिचालित टोलीले भेरी किनारमा एक शव फेला परेपछि पण्डितबारे दुःखद खबर हो कि भन्ने आशंका गरिएपछि जाजरकोटकी महिलाको भएको पुष्टि भएको थियो । मेजर पण्डितको खोजीमा तीनवटै सुरक्षा निकायबाट विशेष टोली परिचालित भए पनि हालसम्म फेला पर्न नसकेपछि सुरक्षाकर्मीको संख्या र खोजीको दायरा बढाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोख्रेलले बताए।

‘उहाँ (मेजर पण्डित) को खोजी निरन्तर भइरहेको छ। तीनवटै सुरक्षा निकायबाट खोजीका लागि सुरक्षाकर्मी खटिएका छन्,’ पोखरेलले भने । जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शिव बुढाथोकीले मेजर पण्डितको खोजीमा सेनाका दुवै गणसहित आफूहरू फिल्डमा खटिएको भए पनि कुनै प्रगति भने नभएको बताए ।

मेजर पण्डित आफ्नो सुरक्षा गार्ड नलिई आइतबार साँझ दुनैस्थित ब्यारेकबाट निस्किएर जिप रिजर्भ गरी त्रिपुराकोटसम्म पुगेको जनाइएको छ । त्यसपछि उनको स्थानीय एक व्यापारीलाई फोनपेमार्फत २६ हजार ट्रान्सफर गरिदिएर उनीसँग नगद लिएर त्यहाँबाट हिँडेको जनाइएको छ । र सोही दिन उनले परिवारसँग फोन सम्पर्क गरेको देखिएको छ। तर त्यसपछि भने उनको मोबाइलको स्वीच अफ रहेको पहरीले जनाएको छ ।

‘उनले आफैँप्रति कुनै अप्रिय घटना घटाउने मनसायले ब्यारेक नछाडेको पनि अनुमान लगाउन सकिन्छ । यदि त्यस्तो हुन्थ्यो भने त्रिपुरासुन्दरीबाट २६ हजार नगद केका लागि लिन्थे होला र ?,’ खोजीमा खटिएका एक प्रहरीले भने । अहिले प्रहरीले त्रिपुरासुन्दरी नगरपालिका क्षेत्र, भेरी नदी किनारतिर खोजी केन्द्रित गरिएको जनाएको छ ।

विमलकी बैनीले सामाजिक सञ्जालमा त्रिपुरासुन्दरी मन्दिरको भिडियो राख्दै ‘जय त्रिपुरासुन्दरी माई, रक्षा गरिदिइस्यो भगवान’ भनेर गरेको पुकारा अहिलेसम्म त्रिपुरासुन्दरी माताले सुनेकी छैनन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

होटलमा २ दिनसम्म थुनेर नाबालिगमाथि सामूहिक बलात्कार

रूपन्देही । बाँकेको कोहलपुरको एक होटलमा लगेर २ दिनसम्म बन्धक बनाई एक नाबालिगलाई सामूहिक बलात्कार …

प्रतिकृया दिनुहॊस