काठमाडौं । असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दू धर्मावलम्बीको महान् चाड बडा दशैंका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, विभिन्न राजनीतिक दलका नेतालगायत नेपालको राष्ट्रिय जीवनका विभिन्न क्षेत्रका व्यक्तित्वले पनि बेग्लाबेग्लै शुभकामना सन्देश जारी गरी हार्दिक शुभकामना प्रकट गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना सन्देश दिँदै असत्यमाथि सत्यको विजय भएको मान्यता र प्रतीकको रूपमा मनाउने गरिएको विजया दशमीले सबै नेपालीलाई आ–आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको सामाजिक आर्थिक समृद्धिमा जुट्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन् ।
घटस्थापनादेखि कोजाग्रत पुर्णिमासम्म मनाइने बडादशैँको अवसरमा विविध धार्मिक सांस्कृतिक क्रियाकलाप एवं उत्सव हुने महापर्वको यस महत्वपूर्ण अवधिमा विभिन्न प्रजातिका बीउबिजनबाट जमरा उमारी त्यसलाई प्रसाद र आशीर्वादका रुपमा ग्रहण गरिने परम्पराले प्रत्यक्ष तथा परोक्षरुपमा अन्न र स्वच्छ वातावरणको महत्व स्थापित गर्न सहयोग पुर्याएको बताउँदै राष्ट्रपति भण्डारीले दशैँघरमा कृषि औजार र विभिन्न बनस्पतिकोपूजा गरिने चलनलेमानव जीवनसँग घनिष्ट सम्बन्ध रहेको बोटबिरुवा र कृषि प्रणालीको संरक्षण गर्नुपर्ने चेतना फैलाएको तथा सांस्कृतिक मूल्य मान्यता र मानव जीवनलाई सुखी र समृद्ध तुल्याउने सन्देश समेत प्रवाह गर्दै आएको शुभकामना सन्देशमा उल्लेख गरेकी छन् ।
यसै अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले शुभकामना सन्देश दिँदै शरद ऋतुको महान् चाड दशैंले सकारात्मक सोचसहित पारस्पारिक सद्भाव, सहयोग र स्नेह बढाउने बताउँदै हाम्रा चाडपर्वले धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई सम्मान गर्दै सामाजिक, सद्भाव, एकता र साझा पहिचानसहित सहिष्णुता कायम गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास विश्वास व्यक्त गरेका छन् ।
प्रधानमन्त्री केपी ओलीले शुभकामना सन्देश दिँदै सरकार राजनीतिक स्थिरतासँगै देशलाई आर्थिक समृद्धि र विकासको दिशामा अघि बढाउन क्रियाशील रहेको पनि बताएका छन् । जनताले दिएको अभिभारालाई पूरा गर्न दिएको अवसरलाई कुनै पनि हालतमा खेर जान नदिने र हरेक क्षण सजग हुँदै अगाडि बढ्दै आएको र आगामी दिनमा पनि सजक भएर जाने बताएका छन् ।
प्रधानमन्त्री ओलीले अहिलेको समय सत्तापक्ष र प्रतिपक्षमा विभाजित भएर सानातिना कुरामा विवाद गर्दै समाजलाई विभाजित गर्ने नभएको बताएका छन् ।
सभामुख कृष्णबहादुर महराले शुभकामना सन्देश दिँदै चाडपर्वले विभिन्न जातजाति, वर्ण, भाषा, धर्म र सामाजिक एवं संस्कृतिक पहिचान रहेका सबै नेपालीका लागि समान अवसर प्राप्त हुने विश्वास व्यक्त गर्दै सामाजिक सद्भावसहित समृद्धिको गरेका छन् ।
यसै उपलक्ष्यमा नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो र पार्टीका तर्पmबाट स्वदेश तथा विदेश जहाँ रहेका भए पनि सम्पूर्ण नेपाली दाजु–भाइ तथा दिदी–बहिनीहरुमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभ–कामना व्यक्त गरेका छन् ।
एकता, मेलमिलाप र सद्भावका रुपमा मनाइने विजया दशमी पर्वले हामी बीचमा केही मतभेदहरु छन् भने तिनीहरुलाई बिर्सेर, देशको सर्वाङ्गिण हितमा संलग्न हुने पर्वको रुपमा ग्रहण गर्न सके यसको महत्व अझ बढ्ने सभापति दउवाले बताएका छन् ।
यसैगरी, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिन्दू धर्मावलम्बीको महान् चाड विजयादशमीका अवसरमा शुभकामना व्यक्त गर्दै नेपालीको उत्तरोत्तर प्रगति तथा समृद्ध जीवनका लागि मेरो व्यक्तिगत तथा परिवार एवं पार्टीका तर्फबाट हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले विविध विशेषतायुक्त नेपाली समाजमा विशेष चाडको रूपमा वहुसंख्यक नेपालीले मनाउँदै आएको महान् पर्व विजयादशमीको सुखद् अवसरमा समस्त दिदीबहिनी तथा दाजुभाइहरूमा मंगलमय शुभकामना व्यक्त गरेका छन् ।
विजया दशमीको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीलगायतले शुभकामना सन्देश दिए
तपाईंको प्रतिकृया



