हवाई टिकट नपाउँदा कर्णाली प्रदेशका यात्रु अलपत्र

बाँके । नेपालगञ्ज विमानस्थलमा हवाई टिकट नपाउँदा यात्रु अलपत्र परेका छन् । यात्रुको चापको तुलनामा जहाजको उडान न्यून रहेको हुदाँ यात्रुहरु अलपत्र परेका हुन् ।
हवाई टिकटमा ठूलाबडाको भनसुन चल्ने गरेपछि सामान्य सर्वसाधारणको बिचल्ली नै भएको छ ।
जहाज कम्पनीले हवाई टिकट जति मन्त्री र सांसदको पावरमा बाँडिएकाले यात्रुको बिचल्ली भएको मुगुका सुरेन्द्र शाहीले बताए ।
टिकट वितरणको काम व्यवस्थित नहुँदा हरेक वर्षको दशैँ तिहारमा पहाडी तथा हिमाली जिल्लाका यात्रुले सास्ती खेप्नुपरेको जुम्लाका सरिता शाहीले बताइन् ।
तर, नेपालगञ्ज विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरले जहाजको उडान भन्दा यात्रुको चाप धेरै भएकाले समस्या आएको बताउँछन् । उनका अनुसार पहाडी जिल्ला डोल्पा, मुगु, हुम्ला, जुम्ला र बाजुराका लागि तारा र समिट एयरले दैनिक रूपमा एक/एक उडान भर्दै आएका छन् ।
कर्णाली प्रदेशको डोल्पा र हुम्लामा सडक यातायातको पहुँच छैन । कर्णालीका जुम्ला, मुगु तथा सुदूरपश्चिम प्रदेशको बाजुरामा सडक यातायात पुगे पनि त्यति भरपर्दो नरहेकाले सो क्षेत्रका बासिन्दाले आवतजावतका लागि हवाई यातायातको साहारा लिनुपर्ने बाध्यता छ ।
टिकट नपाउँदा पहाडी जिल्लाका यात्रु चाडपर्वको समयमा सधैँ मर्कामा पर्ने गर्छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप