काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले राजदूत नियुक्ति प्रक्रिया छिट्टै टुंगिने बताएका छन् । बिहीबार राष्ट्रियसभाको बैठकमा बोल्दै मन्त्री साउदले हाल स्थायी नियोग, न्यूयोर्क तथा जेनेभा, क्यानडा, फ्रान्स, थाइल्याण्ड, यूएई र कुवेत गरी सात स्थानमा राजदूत पद रिक्त रहेको जानकारी गराए ।
उनले राजदूत नियुक्तिका सम्बन्धमा उच्च तहमा छलफल भइरहेको बताए । राजदूत नियुक्ति ५० प्रतिशत परराष्ट्रभित्रबाट र ५० प्रतिशत परराष्ट्र बाहिरबाट गरिने भन्दै उनले नियुक्ति प्रक्रिया तत्काल टुंगिने बताए ।
मन्त्री साउदले विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरूको उद्दारका लागि र सहजीकरण गर्ने कामलाई नियोगहरूले उच्च प्राथमिकता राखेको बताए । विदेशमा रहेका नेपालीहरूको हकहितको सुरक्षा गर्न र आवश्यक सहयोग उपलब्ध गराउन विदेशस्थित नेपाली नियोगहरूको भूमिकालाई थप प्रभावकारी बनाउन परराष्ट्र मन्त्रालय प्रतिवद्ध रहेको उनले बताए । मन्त्री साउदले नियोगहरूलाई साधन, स्रोत सम्पन्न बनाउँदै लगिने प्रतिवद्धता जनाए ।




