काठमाडौँ । काभ्रेको पाँचखाल नगरपालिकामा रहेको औद्योगिक ग्रामलाई महिला उद्यमी विशेष औद्योगिक ग्राममा रूपान्तरण गरिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले पाँचखाल नगरपालिकामा रहेको औद्योगिक ग्रामलाई महिला उद्यमी विशेष औद्योगिक ग्राममा रूपान्तरण गर्ने निर्णय गरेको हो ।
यस्तै विधेयक समितिबाट मन्त्रिपरिषद्मा आएको विद्युत् व्यापारसम्बन्धी विधेयक संसद्मा पेश गर्ने निर्णय भएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । मन्त्रिपरिषद्ले सम्बन्धित मन्त्रालयलाई यो विधेयक संसद्मा पेश गर्न अनुमति दिएको हो ।
यसैगरी काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह जेठको अन्तिम साता बेल्जियमको भ्रमण पनि स्वीकृत गरेको छ । जेठ २९ देखि ३२ सम्म ब्रसेल्समा हुने विश्वका महानगरपालिकाहरूको शिखर सम्मेलन तथा अर्बान समिटमा भाग लिन बालेन शाह बेल्जियम जान लागेका हुन् कालीमाटी तरकारी बजारको अध्यक्षको जिम्मेवारी सहसचिव मदन भुजेललाई दिने निर्णय पनि सरकारले गरेको हो ।




