काठमाडौँ । मन्त्रिपरिषद्को नियमित बैठक विविध निर्णय गर्दै सकिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले विद्युत् व्यापारसम्बन्धी विधेयक संसद्मा पेश गर्ने निर्णय गरेको हो ।
विधेयक समितिबाट मन्त्रिपरिषद्मा आएको विद्युत् व्यापारसम्बन्धी विधेयक संसद्मा पेश गर्ने निर्णय भएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । मन्त्रिपरिषद्ले सम्बन्धित मन्त्रालयलाई यो विधेयक संसद्मा पेश गर्न अनुमति दिएको हो ।
यसैगरी काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह जेठको अन्तिम साता बेल्जियमको भ्रमण पनि स्वीकृत गरेको छ । जेठ २९ देखि ३२ सम्म ब्रसेल्समा हुने विश्वका महानगरपालिकाहरूको शिखर सम्मेलन तथा अर्बान समिटमा भाग लिन बालेन शाह बेल्जियम जान लागेका हुन् ।
आजकै मन्त्रिपरिषद् बैठकले काभ्रेको पाँचखालमा रहेको औद्योगिक ग्रामलाई महिला उद्यमी विशेष औद्योगिक ग्रामका रूपमा रूपान्तरण गर्ने निर्णय गरेको छ भने कालीमाटी तरकारी बजारको अध्यक्षको जिम्मेवारी सहसचिव मदन भुजेललाई दिने निर्णय भएको छ ।



