नारायणगढ मुग्लिन सडक आजबाट रातमा बन्द

चितवन । विस्तारको काम भइरहेको नारायणगढ मुग्लिन सडक आज (आइतबार)देखि रातको समयमा बन्द हुने भएको छ । अर्को सूचना नआउँदासम्म यो समय सीमा कायम रहने छ । चितवन जिल्ला प्रशासन कार्यालयमा बिहीबार भएको बैठकले यस्तो निर्णय गरेको हो । पहिरो आएर ज्यानै जान थालेपछि व्यवस्थापिका संससदको विकास समितिले दिएको निर्देशन बमोजिम जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय बैठकले यस्तो निर्णय लिएको हो ।‍ स्थलगत अध्ययनपछि विकास समितिले दिएको १२ बुँदे निर्देशनमा रातको समयमा गाडी चलाउनु जोखिम पूर्ण हुने ठहर गर्दै बन्द गर्न भनेको थियो । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार आजदेखि काठमाडौं र पोखराबाट चितवन तर्फ आउने गाडीहरुले साँझ पाँच बजेभित्रै मुग्लिन पार गर्नु पर्ने छ । नारायणगढ हुँदै जाने गाडीहरुले साँझ छ बजेभित्र दासढुंगा पार गर्नु पर्ने छ ।

‘बिहानपख दासढुंगाबाट चार बजे र मुग्लिनबाट पाँच बजे मात्रै गाडीहरु खुल्ने छन् । रातभर कुनै गाडी चल्ने छैनन् । अत्यावश्यक सेवाका गाडीहरुलाई पनि परिस्थिति हेरेर मात्रै छाडिने छ’ प्रमुख जिल्ला अधिकारी भट्टले भने । यसअघि गत पुसबाट दिउँसो यातायात बन्द गरेर निर्माण कार्य हुँदै आएको थियो । असार नौ गतेको घटनापछि दिउँसो गाडी बन्द हुन छाडेको थियो ।

असार नौ गते मध्यरातमा आएको पहिरोमा परेर सो सडक खण्डको कालीखोलामा प्रहरी चढेको भ्यान नै सडकबाट चिप्लेर नदीमा पुगेको थियो । भ्यानमा रहेकामध्ये तीनजना प्रहरीको शब भेटिएको थियो । एकजना प्रहरी र भ्यानको अवस्था अज्ञात नै छ । सो घटनापछि असार १३ गते संसदको विकास समितिका सभापति रविन्द्र अधिकारीसहितका सांसदहरुले नारायणगढ मुग्लिन सडक खण्डको स्थलगत अध्ययन गरेका थिए । कुल ३६ किलो मिटर लम्बाइ रहेको नारायणगढ मुग्लिन सडक खण्डलाई एसियाली मापदण्ड अनुरुपको दुई लेनको बनाउन विस्तारको काम भइरहेको छ । हाल पाँचदेखि सात मिटरसम्म चौडा रहेको सो सडक विस्तारपछि नौदेखि ११ मिटर फराकिलो हुने छ । सडक फराकिलो बनाउन ठाउँ ठाउँमा पहाड काटिएको छ । पहाड काटेको ठाउँमा पहिरो गएर मान्छेको ज्यानै जान थालेको छ ।

चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार कालीखोलाको दुर्घटनाअघि पनि गत चैत्र २१ मा घुमाउने भन्ने ठाउँमा दिउँसै सुख्खा पहिरो गएर दुईजनाको ज्यान लिएको थियो । पहिरोले यात्रुको ज्यान नै जोखिममा पर्न थालेको सो सडक खण्डको विस्तार कार्य पनि निकै सुस्त छ । सुरुको सम्झौता अनुसार सन् २०१७ को अप्रिलभित्र काम सक्ने सर्त थियो । तर अहिलेसम्म सडक विस्तारको काम जम्मा ५० प्रतिशत मात्रै पुरा भएको छ । समय अवधि थप गरेर आउँदो डिसेम्बरसम्म काम सक्ने नयाँ लक्ष्य तोकिएको छ । तर सो समयभित्र काम नसकिने लगभग पक्का पक्की जस्तै छ ।

वर्षायाममा निर्माण कार्य असम्भव छ । रातमा सडक बन्द गरेर सम्भव भएका ठाउँहरुमा निर्माणको काम पनि गर्नु पर्ने संसदीय समितिको निर्देशन छ । तर बैठकमा सहभागि आयोजनाका अधिकारी र निर्माण कम्पनीका प्रतिनिधिहरुले रातमा काम गर्न गाह्रो भएको धारणा राखे । दिउँसो भने सकेसम्म काम जारी नै राख्ने प्रतिवद्धता उनीहरुले व्यक्त गरेका छन् । ‘यो वर्षायाममा दिउँसोमा काम गर्न त समस्या हुन्छ भने रातिमा कसरी काम हुन सक्छ’ निर्माण व्यवसायी रविन्द्र श्रेष्ठले भने । नारायणगढ मुग्लिन सडक निर्माण अयोजनाका निमित्त प्रमुख गोविन्द खनालले यात्रुहरुको सुरक्षाका लागि रातमा गाडी चलाउन बन्द गर्ने निर्णय राम्रो भएको तर त्यो समयमा काम गर्न भने सहज नहुने धारणा राखेका थिए ।

राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई देशको पुर्वी र पश्चिम भागसँग जोड्ने मुख्य मार्गका रुपमा रहेको नारायणगढ मुग्लिन सडक खण्डमा दिनमा १० हजारको हाराहारीमा गाडी गुड्छन् । साना गाडीहरुका लागि अन्य केही वैकल्पिक मार्गहरु रहे पनि ठुला बस ट्रकका लागि योभन्दा अरु मार्ग छैन । गाडी चल्न बन्द हुँदा यात्रुलाई मर्का पर्नुका साथै काठमाडौं र पोखराको आपुर्ती व्यवस्थामा पनि कठिनाइ हुन सक्छ । अन्नपूर्णपाेष्ट

बारेमा news

यॊ पनि हेर्नुहॊस

रविलाई सिधै भद्रकाली लगियो, शुक्रबारबाटै बयान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंको …

प्रतिकृया दिनुहॊस