काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा संसदीय दलका नेता रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन समिति बनाउन माग गरेका छन् । लामिछानेले संसद्को आकस्मिक समयमा बोल्दै यस्तो माग गरेका हुन् ।
उनले छानबिनका विषयमा सबै दल मिलेको जस्तो देखिएकाले आशंका गर्ने ठाउँ रहेको जिकिर गरे । ‘भ्रष्टाचारका विषयमा हामीले बारम्बार आवाज उठाउँदै आइरहेका थियौँ । तीन राजनीतिक दलहरू खुसुरखुसुर बसेको कुरालाई लिएर आशंका व्यक्त गर्दै आइरहेका थियौँ । आज कुनै राजनीतिक दल बाँकी रहेको छैन, जसलाई आरोप लाग्न बाँकी होस्,’ सभापति लामिछानेले भने ।
उनले अँध्यारो कोठामा नभई दिउसै सिंहदरबारदेखि बालुवाटारसम्म लेनदेन हुने गरेको आरोप लगाए । ‘अँध्यारोमा होइन दिनको उज्यालो, सिंहदरबार र बालुवाटारमा लेनदेन भएको छ । अब विश्वासको वातावरण बन्द भएको छ । संसदीय विशेष समिति बनाउनुपर्छ,’ लामिछानेले अगाडि भने, ‘ज-जसको नाम आएको छ । तीनको तिनीहरूलाई छानबिनको दायरामा ल्याउन, सोधपुछ गर्न किन डराएको ? गृहमन्त्रीले मुटु दह्रो छ भन्नुभएको थियो । प्रधानमन्त्रीले मुटु दह्रो छ भन्नु भएको थियो । उहाँको मुटु कहाँ गएर चेक गर्ने ? त्यस कारण नाम मुछिएकाहरूलाई सोधपुछ हुनुपर्यो । कारबाही हुनुपर्यो ।’




