भिआइपी जोगाउन शीर्ष नेताबीच मोलमोलाइ

काठमाडौँ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गरिरहेको गिरोहमा संलग्न भएको आरोपमा पक्राउ परेका ‘भिआइपी’ लाई जोगाउन राजनीतिक दलका शीर्ष नेताबीच मोलमोलाइ सुरू भएको छ ।

ठगी गिरोहप्रतिको प्रहरी अनुसन्धान राजनीतिक दलका नेता र सरकारका उच्च पदस्थ अधिकारीतर्फ पनि सोझिएपछि उनीहरूलाई बचाउन शीर्ष तहका नेताहरूले मोलमोलाइ गर्न थालेका हुन्। शक्ति केन्द्रदेखि लिएर सत्ता र प्रतिपक्षीबीच मोलमोलाइ सुरू भएको स्रोत बताउँछ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने नाममा ठगी गरिरहेको गिरोहका सम्बन्धमा प्रहरीले अनुसन्धान अघि बढाएको छ। अहिलेसम्मको अनुसन्धानले यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप, उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे (यसअघि गृह मन्त्रालयका सचिव), एमाले उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक, थापा गृहमन्त्री हुँदा सुरक्षा सल्लाहकार रहेका इन्द्रजित राई, उनका छोरा निरजसहितको संलग्नता देखाएको छ।

सचिव पाण्डे, पूर्वसुरक्षा सल्लाहकार राई, पूर्वउपप्रधानमन्त्री एवं एमाले सचिव रायमाझीका छोरा सन्दीपलाई प्रहरीले पक्राउ गरी अनुसन्धानको दायरामा ल्याइसकेको छ। टोपबहादुर रायमाझी, प्रतीक थापा र निरज राईलाई प्रहरीको अनुसन्धान दायरामा ल्याउन पक्राउ पुर्जी जारी भइसकेको छ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गरिरहेको गिरोहमा संलग्न भएको आरोपमा पक्राउ परेका ‘भिआइपी’ लाई जोगाउन राजनीतिक दलका शीर्ष नेताबीच मोलमोलाइ सुरू भएको छ।

पूर्वउपप्रधानमन्त्री एवं एमाले सचिव रायमाझविरुद्ध काठमाडौं जिल्ला अदालतबाट बुधबार पक्राउ पुर्जी जारी भएको हो। पक्राउ पुर्जी जारी हुँदा सचिव रायमाझी प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग अर्घाखाँचीमा थिए। उनी बुधबार साँझ सभामुख घिमिरेसँगै भैरहवाबाट हवाईजहाजमा काठमाडौं आउने कार्यक्रम थियो। तर पक्राउ पर्ने डरले उनी जहाजबाट आएनन्।

स्रोतले भने रायमाझी भैरहवामा नै प्रहरीको सम्पर्कमा आएको बताएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंमा हाजिर हुनेगरी उनी भैरहवाबाट सडकमार्ग हुँदै हिँडेको दाबी स्रोतको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले भने बिहीबार साँझसम्म रायमाझी सम्पर्कमा नआएको जनाएको छ। ‘उहाँ अहिलेसम्म सम्पर्कमा आउनुभएको छैन,’ परिसरका प्रवक्ता प्रहरी उपरीक्षक सीताराम रिजालले भने, ‘हाम्रो प्राविधिक टिमले ट्रेसिङ गरिरहेको छ।’

ठगी गिरोहमा संलग्न भएको आरोपमा राजनीतिक दलका केन्द्रीय स्तरका नेता र उच्च पदस्थ कर्मचारी प्रहरी अनुसन्धानमा तानिएपछि उनीहरूलाई बचाउन दलका शीर्ष नेता सलबलाएको स्रोत बताउँछ। अझै केही ‘भिआइपी’ पनि अनुसन्धानमा तानिन सक्ने अनुसन्धानमा खटिएका प्रहरी अधिकारी बताउँछन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले यो प्रकरणमा अनुसन्धानका लागि अझै १०÷११ जना तानिन सक्ने बताए।

‘अहिलेसम्मको अनुसन्धान प्रारम्भिक मात्रै भन्दा पनि हुन्छ। अझैं १०/११ जना र त्योभन्दा बढी पनि पक्राउ पर्न सक्ने अवस्था हुन सक्छ,’ उनले भने, ‘अहिलेसम्म ८ जना पक्राउ परिसकेका छन्।’

स्रोतका अनुसार प्रहरीले पूर्वगृहमन्त्री थापालाई पनि अनुसन्धानका लागि नियन्त्रणमा लिन सक्ने सम्भावना छ। थापा गृहमन्त्री भएका बेला भुटानी शरणार्थीका नाममा नेपालीलाई अमेरिका पठाइदिने गिरोहले संगठित रूपमा काम गरेको थियो। उनका छोरा प्रतीक पनि अनुसन्धानमा तानिएका छन्। अनुसन्धान अघि बढ्दै जाँदा पूर्वगृहमन्त्री थापा पनि अनुसन्धानका लागि तानिनसक्ने सम्भावना रहेको स्रोत बताउँछ।

पूर्वगृहसचिव महेश्वर न्यौपानेलाई पनि प्रहरीले अनुसन्धानको घेरामा राखेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई पनि प्रहरी अनुसन्धानमा तानिन सक्ने सम्भावना छ। राई थापा गृहमन्त्री हुँदा गृहसचिव थिए। त्यस्तै कांग्रेस नेता बालकृष्ण खाण गृहमन्त्री हुँदा गृहसचिव रहेका पाण्डे पनि पक्राउ परिसकेका छन्।

प्रहरी अनुसन्धान दल र प्रशासनका भिआइपीतर्फ केन्द्रित भएपछि राजनीतिक दलका शीर्ष नेतृत्व पनि तरंगित बनेको छ। गृह मन्त्रालयको नेतृत्व सम्हालेका नेता र कर्मचारी अनुसन्धानमा तानिने डरले सल्बलाउन थालेका छन्। –नागरिक दैनिकबाट

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री