माओवादी नेतृत्वलाई एमालेको प्रश्न- लडाकुको नाममा लिएको ९५ करोड कहाँ गयो ?

काठमाडौं । नेकपा (एमाले) ले अयोग्य लडाकुलाई पैसा बाँड्ने निर्णय खारेज गर्न माग गरेको छ । एमाले प्रमुख सचेतक पदम गिरीले आजको प्रतिनिधिसभा बैठकमा आर्थिक संकट भएका बेला राज्यको ढुकुटीको दोहन भएको बताए ।

‘माओवादीको अयोग्य लडाकुका नाममा ४८ सय व्यक्तिलाई राज्य कोषको ढुकुटीबाट दुई–दुई लाख नगद निकालेर बाँड्ने चलखेल हुँदैछ । कार्यविधि बनाएर पैसा बाँडिदैछ भन्ने सुनिएको छ’, उनले भने । उनले सत्य निरुपणको बाँकी काममा सरकारलाई ध्यान नभएको बताए । तत्कालीन माओवादी नेतृत्वले ९५ करोड बुझेर लगेको पैसा कहाँ गयो भन्ने विषय अनुतरित नै रहेको बताए । राज्य कोषबाट दोहन भएको भन्दै स्वीकार नहुने बताए ।

प्रतिनिधिसभा बैठकको सुरुमा समय लिएर बोलेका एमाले प्रमुख सचेतक पदम गिरीले यसबारे सरकारको ध्यानाकर्षण गराएका छन् । आर्थिक संकटमा रहेकाले वृत्तभत्तादेखि प्रदेश र स्थानीय तहको समानीकरण अनुदान कटौती गरेको सरकारले ४,८०० बढी व्यक्तिलाई २ लाख रुपैयाँको दरले रकम बाँड्न लागेको उनले बताए ।

चालु आर्थिक वर्षमा १ अर्ब ४० करोड छुट्याए पनि शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्न सरकार गम्भीर नभएको भन्दै उनले अघि भने, ‘सत्य निरुपण तथा मेलमिलापको काम थाति राखिएको छ, त्यतितिर चिन्ता छैन । तर देशबाट पैसा निकालेर धमाधम कार्यकर्तालाई पैसा बाँडिँदैछ ।’

अनमिनले पुनः प्रमाणीकरण गर्दा २ हजार ४५१ जना को थिए भन्ने यकिन नभएको र तीनको नाममा ९५ करोड रुपैयाँ माओवादी नेतृत्वले लगेको भन्दै उनले भने, ‘त्यो पैसा कहाँ गयो ?’ एमाले प्रमुख सचेतक गिरीले शान्ति प्रक्रिया पूरा गर्न ध्यान नदिने, तर राज्य कोषबाट दोहन गर्ने काम स्वीकार्य नहुने बताए । अयोग्य लडाकुलाई पैसा बाँडिए आन्दोलन गर्ने समेत गिरीले चेतावनी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका शाहको दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आइतबार …

प्रतिकृया दिनुहॊस