एजेन्सी । सुडानमा जारी सेना र शक्तिशाली अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्सेस (आरएसएफ) बीचको लडाइँमा २५ जनाको मृत्यु भएको छ ।
अर्धसैनिक समूहले राष्ट्रपतिको कार्यालय नियन्त्रणमा लिने क्रममा भएको झडपमा १८३ जना घाइते भएका छन् । अर्धसैनिक समूहले अधिकांश आधिकारिक सरकारी साइटहरू पनि कब्जामा लिएको छ । प्रत्यक्षदर्शीका अनुसार सुडानको राजधानी खार्तूमस्थित राष्ट्रपति भवन र सेनाको मुख्यालय वरपर भीषण भिडन्त भएको छ ।
सुडान अर्धसैनिक प्रमुख मोहम्मद हमदान डगालेले स्काई न्यूजलाईको एक अन्तर्वार्तामा खार्तूमका ९० प्रतिशतभन्दा बढी रणनीतिकस्थल कब्जामा लिएको बताएका छन् । झडपपछि सुडानी केन्द्रीय चिकित्सा समितिले खार्तूम आसपासका अस्पताल घाइतेले भरिएको जनाएको छ ।
आरएसएफले एक विज्ञप्ति जारी गर्दै खार्तूम, मारवा र अल–अबैदमा रहेका विमानस्थललाई आफ्नो नियन्त्रणमा लिएको र त्यसपछि अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान रद्द गरिएको दाबी गरेको छ । सन् २०१९ अप्रिलमा सुडानका जर्नेलहरूले राष्ट्रपति ओमर अल बसिरलाई सत्ताच्यूट गरी सरकार आफ्नो हातमा लिएपछि सुडानमा हिंसा भड्किएको थियो ।
त्यबेला नागरिकहरूले शान्तिपूर्ण धर्ना दिँदा सेनाले चलाएको गोली लागेर ११८ नागरिकको मृत्यु भएको थियो । सत्ता हातमा लिएपछि नागरिकसँग सत्ता साझेदार गर्ने सेना सहमत भए पनि सहमति हालसम्म पालना गरेको छैन। सन् २०२१ मा अर्को कू गरेर लोकतन्त्रको प्रक्रिया सेनाले रोकेको थियो । त्यसयता लोकतन्त्रको माग गर्दै नागरिकहरू आन्दोलनमा छन् ।




