काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बाह्य क्षेत्रमा सुधार आएको बताएका छन् । राष्ट्र बैंकले आयोजना गरेको पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले अब सानो धक्काले बैंकहरू समस्यामा नपर्ने बताएका हुन् ।
गत वर्ष शोधनान्तर, चालु खाता घाटा अत्याधिक रहेको भन्दै अहिले यस्तो अवस्था नरहेको उनले बताए । ‘चालु आर्थिक वर्षमा औसतमा महिनामा एक खर्बको दरले रेमिट्यान्स भित्रिएको छ’, गभर्नर अधिकारीले भने, ‘गत वर्ष ४ खर्बभन्दा बढीले घाटामा रहेको चालु खाता ४४ अर्बले घाटामा छ । शोधनान्तर करिब डेढ खर्बले बचतमा आएको छ ।’
उनले विदेशमा बैंक डुबेको कारण नेपालमा बैंक डुब्ने हल्ला चले पनि नेपालका बैंकहरू बलियो रहेको बताएका छन् । नेपालका बैंकहरूको औसत पुँजीकोष १३ प्रतिशतभन्दा बढी रहेको भन्दै उनले सानो धक्काले बैंकलाई समस्या नहुने दाबी गरे । ब्याजदरको विषयमा पछिल्लो माघ महिनादेखि निक्षेपको ब्याजदर घट्ने क्रममा रहेको उनको भनाई छ ।




