रूसी राष्ट्रपति पुटिन भारत भ्रमणमा, हतियार खरिद सम्झाैता हुने

काठमाडाैं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन भारतको औपचारिक भ्रमणका लागि बिहीबार साँझ नयाँदिल्ली आइपुगेका छन् । रूससँग अर्बौं डलरको लडाकु विमान खरिद सम्झौता हुनेक्रममा रहेकाले यस भ्रमणलाई अमेरिका, चीन र पाकिस्तानले नजिकबाट नियालिरहेका छन् ।

रूसले राष्ट्रपति पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा करिब ५ अर्ब डलरको अत्याधुनिक एस–४०० हवाई प्रतिरक्षा प्रणाली खरिद सम्झौतामा हस्ताक्षर हुने जानकारी दिएको छ । रूसी प्रतिरक्षा प्रणाली खरिद गर्ने मुलुकविरुद्ध अमेरिकाले प्रतिबन्ध लगाउने घोषणा गरे पनि यो हस्ताक्षर हुन लागेको हो । राष्ट्रपति पुटिन १९औं भारत–रूस द्विपक्षीय वार्षिक सम्मेलनमा सहभागी हुने कार्यक्रम पनि रहेको छ । उनले भारतमा रहँदा प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग भेट गर्नेछन् ।

वासिङटन र नयाँदिल्लीले सन् २०१९ मा संयुक्त सैन्य अभ्यास गर्ने गत महिनामात्र घोषणा गरेका थिए । दुबै देशबीच संवेदनशील सैन्य सूचना आदानप्रदान गर्ने पनि सहमति भएको थियो । यद्यपि रूस भारतको मुख्य सैनिक साझेदार रहिआएको छ र पछिल्लो सम्झौता मस्कोका लागि निकै महत्वपूर्ण मानिएको छ । पुटिन र मोदीबीच अरू पनि सैन्य सामग्रीको आपूर्तिका बारेमा छलफल हुने बताइएको छ ।

भारत र रूसबीच सैनिक हेलिकप्टर उत्पादनका बारेमा यसअघि नै सम्झौता भइसकेको छ । यसअन्तर्गत ६० वटा रूसमा निर्माण गरिने र बाँकी भारतमा उत्पादन गरिनेछ । विज्ञहरूले भारतलाई अत्याधुनिक एस–४०० प्रणालीजस्ता उपकरण सख्त जरुरत भइसकेको बताएका छन् । चीनले लगातार सैनिक क्षमता सुदृढ गरिरहेको र पाकिस्तानबाट नयाँनयाँ चुनौती आइरहेकाले पनि भारतले आफ्नो प्रतिरक्षा क्षमता बढाउन आवश्यक रहेको उनीहरूको भनाइ छ ।

भारतीय वायुसेना प्रमुख वीरेन्दर सिंह धनोआले एस–४०० र ३६ वटा फ्रान्सेली लडाकु विमान राफेलको खरिदबाट भारतको तत्कालीन आवश्यकता पूरा हुने बताए । भारत विश्वमै सबैभन्दा ठूलो सैनिक सामग्री आयातकर्ता मुलुक हो र भारतले १ खर्ब डलरका आधुनिक हातहतियार खरिद गर्ने योजना सार्वजनिक गरिसकेको छ । रूस अझै पनि भारतको सबैभन्दा ठूलो सैन्य सामग्री आपूर्तिकर्ता मुलुक हो । सन् १९५३ यतादेखि दुबै मुलुकबीच प्रगाढ सम्बन्ध रहँदै आएको छ । दोस्रो स्थानमा अमेरिका छ । अमेरिकाले भारतीय सेनाका लागि अत्याधुनिक अपाचे हेलिकप्टर र ड्रोनहरू बिक्री गर्दै छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकासँगको सम्बन्धमा जोड दिएसँगै भारतको रूससँगको व्यापारमा कमी आएको छ । सन् २०१४ यता दुबै मुलुकबीचको व्यापार १० अर्ब डलरभन्दा कम हुन थालेको छ । यद्यपि पछिल्लो समय मोदी र पुटिनबीचको भेटमा तीव्रता आएको छ । -एएफपी

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस