एजेन्सी । मध्य कोलम्बियाको एक कोइला खानीमा विष्फोट हुँदा कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै अन्य १० जना फसेको कुन्डिनामार्सा क्षेत्रका गभर्नरले बुधबार बताएका छन् ।
गभर्नर निकोलस गार्सियाले ब्लु रेडियोलाई बताएअनुसार एक कामदारको उपकरण पत्थरमा ठोकिएर निस्केको झिल्कोले खानीमा चुहावट भएको ग्यास टिपेपछि खानीमा विष्फोट भएको हो । अग्निनियन्त्रक र उद्धारकर्मीहरू खानीको प्रवेशद्वारमा उद्धारका लागि पुगेको स्थानीय सञ्चारमाध्यमका तस्बिरहरूमा देखाइएको छ । मृतक श्रमिकका केही नातेदारहरू आफ्ना प्रियजनहरूको बारेमा जानकारीको पर्खाइमा बसिरहेका छन् ।
गार्सियाका अनुसार श्रमिकहरू ९ सय मिटर (२ हजार ९ सय ५० फिट) जमिनमुनि फसेकोले खोजीमा खटिएका एक सयभन्दा बढी उद्धारकर्तालाई उनीहरूसम्म पुग्न कठिन भएको थियो । उनले भने, ‘खानीमा विष्फोटपछि चाँडै नै अक्सिजन कम हुने भएकोले उनीहरूलाई जीवितै उद्धार गर्न असम्भव भएको हो ।’




