पाकिस्तानी पूर्व प्रधानमन्त्री खानलाई पक्राउ गर्ने प्रहरीको तेस्रो प्रयास विफल

एजेन्सी । पाकिस्तानी पूर्वप्रधानमन्त्री ईमरान खानलाई पक्राउ गर्ने प्रहरीको तेस्रो प्रयास विफल भएको छ । मिसन ईमरान ’अरेस्ट’ अभियानका साथ मंगलबार तेस्रो पटक खानलाई पक्राउ गर्न पुगेको प्रहरी रित्तो हात फर्किएको हो ।

तोसाखाना मुद्दामा प्रहरीले उनलाई पक्राउ गर्ने तयारी गरेको थियो । खानका समर्थकहरूको भीडले प्रतिकार गरेपछि प्रहरीले उनलाई पक्राउ गर्न सकेन । प्रमुख प्रतिपक्षी दल तहरीक–ए–इन्साफ (पीटीआई) का अध्यक्ष खानले प्रहरीले पक्राउ गर्न खोजेपछि मंगलबार सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गरेका थिए । इस्लामावाद प्रहरी र रेन्जर्स कमाण्डो खानलाई पक्राउ गर्न उनको घर जमान पार्कमा पुगेपछि समर्थकहरूले निरन्तर सुरक्षाकर्मीमाथि ढुंगामुढा प्रहार गरेका थिए ।

दुई पक्षबीचको झडपमा इस्लामावादका केही प्रहरी र प्रदर्शनकारी घाइते भएका छन् । भीडलाई नियन्त्रण गर्न प्रहरीले मंगलबार लाहोरमा अश्रुग्यास प्रहार समेत गरेको थियो । खानविरुद्ध इस्लामावादको जिल्ला र पुनरावेदन अदालतले तोशाखाना मुद्दामा गैरजमानती वारेन्ट जाहेर गरेको छ । तोसाखाना पाकिस्तानी मन्त्रिपरिषद्को महत्वपूर्ण अंग हो, नियमअनुसार अन्य देशका राष्ट्रप्रमुख वा प्रतिष्ठित व्यक्तिले दिएका उपहार तोशाखानामा राख्नुपर्ने हुन्छ । तर गएको अप्रिलमा सत्ताच्यूत भएका खानले प्रधानमन्त्री हुँदा आफूले पाएका उपहारहरू बेचेर आर्थिक अपचलन गरेको आरोप उनीमाथि छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री