काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरु कहिल्यै पनि मृत्युदण्डको पक्षमा जान नहुने बताएका छन् ।
मृत्युदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ नरहने बताउँदै उनले आफू मृत्युदण्डको पक्षमा नरहेको बताएका छन् । आज (मंगलबार) बाट काठमाडौंमा सुरु भएको मानवअधिकार रक्षक तथा सामाजिक अभियन्ताहरुको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले बुद्ध जन्मेका देशका बासिन्दाहरु कुनै पनि आवेश वा उत्तेजनामा पनि मृत्युदण्डको पक्षमा जान नहुने समेत बताए ।
अध्यक्ष ओलीले संयुक्त राष्ट्र संघले मानवबीच हुने कुनै पनि प्रकारको विभेदलाई स्विकार गर्न नसक्ने कुरालाई स्पष्ट पारेको बताए । उनले भने, ‘मृत्युदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ हुँदैन । त्यसकारण हामी स्थायी रुपमा, हामी नेपालीहरु, बुद्ध जन्मेका देशका बासिन्दाहरु, यहाँका नागरिकहरु कहिल्यै पनि मृत्युदण्डको पक्षमा कुनै आवेश, उत्तेजनामा पनि जानु हुँदैन भन्ने मेरो एकदम दृढ मत हो । कहिल्यै मृत्युदण्डको पक्षमा जानु हुँदैन। तर कति वटा देशहरुले त मृत्युदण्ड दिएको दिएकै छ । संयुक्त राष्ट्र संघको मानव अधिकार डिक्लेरेशनले कुनै प्रकारको विभेद हुँदैन भन्छ । सबै प्रकारका असमानता स्विकार गर्दैन ।’
अध्यक्ष ओलीले नेपालमा पनि मानव अधिकार आयोगलाई धम्की दिने राजनीतिक भइरहेको भन्दै असन्तुष्टि समेत व्यक्त गरेका छन् ।
प्रतिकृया दिनुहॊस