बालक हत्याको आरोपमा श्रीमान-श्रीमती पक्राउ

काठमाडाैं । मोरङको सुनवर्सी नगरपालिका–१ का १४ वर्षीय बालकको हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा स्थानीय ३५ वर्षीय वीरेन्द्र पासवान र उनको ३४ बर्षीया श्रीमती डल्ली पासवान रहेको प्रहरीले जनाएको छ ।

सुनवर्सी नगरपालिका–१ का डिल्ली बहादुर माझीको १४ वर्षीय छोरा विशाल माझी फागुन ११ गते बेलुका घरबाट चोक तिर घुम्न निस्केकोमा फर्केर नआए पछि उनको खोजी सुरु भएको थियो । आफन्तले खोजतलासको क्रममा स्थानीय पोखरीको डिलमा हत्या गरी गाडेको भन्ने सूचनाको आधारमा प्रहरीले फागुन १७ गते त्यहाँ उत्खनन गर्दा शव फेला परेको इलाका प्रहरी कार्यालय रँगेलिले जनाएको छ ।

हत्या गरी गाडेको अवस्थामा बालकको शव फेला परेसँगै घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्न रहेका वीरेन्द्र पासवान र उनकी श्रीमती डल्ली पासवानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी टिकाबहादुर कार्कीले जानकारी दिए ।

बालकको हत्याको आरोपमा पक्राउ परेका दुबैजनालाई इलाका प्रहरी कार्यालय रँगेलिबाट थप अनुसन्धान भइरहेको कार्कीले बताएका छन् । घरायसी रिसिइबिका कारण बालकको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। घटनाको बारेमा अनुसन्धान गर्न जिल्ला अदालत मोरङबाट ७ दिनको म्याद थप भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री