नेपाली सेनाका उपरथी शाही बर्खास्त

काठमाडाैं । नेपाली सेनाले उपरथी प्रेम शाहीलाई बर्खास्त गरेको छ । आर्थिक अनियमितताको आरोपमा केही समयदेखि थुनामा रहेका शाहीलाई भविश्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट बर्खास्त गर्ने फैसला सैनिक अदालतले गरेको सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

यस्तै उनले आर्थिक अनियमितता गरेको रकम भराउने पनि फैसला भएको छ। उनीसँगै आर्थिक अनियमिततामा जोडिएका भनिएका अन्य दुई कर्णेललाई पनि सैनिक अदालतले आंशिक सजाय तोकेको छ। उनीहरुलाई भने सेवाबाट बर्खास्त हुने छैनन्। उनीहरुलाई पनि पक्राउ गरेर सैनिक अदालतले बयान गराएको थियो।

पक्राउ परेपछि दुवै कर्णेलले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए। सर्वोच्चले तीनदिन भित्रमा उपस्थित गराउन आदेश दिएको थियो। तर उनीहरुलाई सर्वोच्च उपस्थित गराउनु पहिले नै सेनाले थुनामुक्त गरिसकेको हो।

नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सहयोग गरेको अभियोगमा प्रमुख सेनानी कुलदिप तिमसिना र महासेनानी महेन्द्रजंग शाह पनि कारबाहीमा परेका हुन् । अवकासको पत्र बुझेर १५ दिन अघि नै बिदामा बसेका शाही सर्वोच्चको आदेश लिएर गत पुस १९ गते जंगी अड्डा फर्किएका थिए।

उपरथी शाहीको चारित्रिक प्रमाण पत्र र अन्य प्रमाण पत्रमा उमेर फरक उल्लेख भएपछि विवाद सुरु भएको थियो। चारित्रिक प्रमाण पत्रमा जन्म मिति २०२२ पुस २० उल्लेख छ। तर अन्य प्रमाण पत्र र नागरिकतामा २०२३ पुस २२ उल्लेख छ । अघिल्लो उमेरका आधारमा सेनाले उपरथी शाहीलाई अवकासको पत्र थमाएको थियो। तर त्यसविरुद्ध शाहीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

सर्वोच्चले उनको नागरिकता र अन्य प्रमाण पत्रमा उल्लेख एक वर्ष पछिको जन्म मितिलाई मान्यता दिँदै सेवामा फर्कने बाटो खोलिदिएको थियो । आफ्नो निर्णयविरुद्ध सर्वोच्च पुगेर फर्किएपछि सेनाले पनि कारबाही सुरु गरेको हो। अन्ततः उनी जागिरबाटै बर्खास्तीमा परेका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री