बहराइनमा डा. सन्दुक रुइतलाई १३ करोड बढीको ‘इसा अवार्ड’

काठमाडौं । तिलगङ्गा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक तथा वरिष्ठ आँखा रोग विशेषज्ञ डा सन्दुक रुइत ‘इसा अवार्ड’बाट सम्मानित भएका छन् ।

बहराइनमा मंगलबार भएको कार्यक्रममा बहराइनका राजा सेख हमद विन इसा अल खालिफाले उनलाई अवार्ड प्रदान गरेको प्रतिष्ठानका जनसम्पर्क अधिकृत सुनिता केसीले बताइन् । उनकाअनुसार बहराइनका राजा अल खालिफाले डा रुइतलाई १० लाख डलर  (नेपाली १३ करोड रुपैयाँबढी) को उक्त अवार्डसहित सम्मानपत्र प्रदान गरेका हुन् ।

‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले उनलाई आँखा उपचार गरेर अन्धोपन हटाउन खेलेको भूमिकाको योगदान गर्दै अवार्ड प्रदान गरेको हो । गत माघ महिनामा डा रुइतलाई उक्त संस्थाले इसा अवार्ड दिने घोषणा गरेको थियो । उक्त अवार्डका लागि एक सय ४५ व्यक्ति तथा संस्थाले मनोनयनमा दर्ता गराएका थिए । अन्तिम छ व्यक्ति तथा संस्थाको सूचीमा परेर उनी छनोट भएका थिए ।

बहराइनका राजा सेख हमद विन इसा अल खालिफाले सन् २००९ मा पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापना गरेको ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले अवार्ड प्रदान गर्दै आएको छ । डा रुइतले मोतियाविन्दु उपचार गर्ने सरल विधि विकास गरेका थिए । उनले प्रतिष्ठानमा अन्धोपन हटाउनका लागि आँखामा हाल्ने अन्तर्राष्ट्रियस्तरको लेन्स ‘इन्ट्राअकुलर लेन्स’ उत्पादन गर्दै आएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री