काममा लगाइदिने बहानामा युवतीलाई भारतको कोठीमा पुर्‍याएपछि पक्राउ परे होटेल सञ्चालक

काठमाडौँ । युवतीलाई भारत लगेर बेचबिखन गरेको आरोपमा प्रहरीले दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १४ लखन पार्कका एक होटेल सञ्चालकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं १४ की ३९ वर्षीया टोपली सार्की र त्यही ठाउँकी ५२ वर्षीया बिमुसा सार्की रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

घोराही उपमहानगरपालिका वडा नं १४ लखन पार्क नजिकै रहेको टोपली सार्कीले २० वर्षीया एक युवतीलाई भारतको चन्डीगढमा काम लगाई दिने र कमाई पनि राम्रो हुने भन्दै चन्डीगढको यौनजन्य कार्य हुने कोठीमा बेचेको प्रहरीले जनाएको छ ।

कोठी सञ्चालकसँग सार्कीले रकम बुझ्दा पीडित युवतीले आफू बेचिएको थाहा पाएकी थिइन् । यौन शोषण भइरहेको १२ दिनपछि गएको माघ २२ गते पीडित युवतीले आफ्नी आमालाई जानकारी दिएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय दाङमा युवती भारतमा बेचिएको उजुरी परेपछि विभिन्न संघ संस्थाको सहयोगमा युवतीको उद्धार गरेर गएको फागुन ४ गते पीडकहरुलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेकाहरुलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अन्तर्गत कसुरमा दाङ देउखुरी जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप