काठमाडौँ । सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ । बिहीबार दिउँसो ३ बजे बस्ने भनिएको बैठक आज बिहान ९ बजे बस्न लागेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयन्त्रका संयोजक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार अपरान्ह सिंहदरबारमा भेटवार्ता भएपछि संयन्त्र बैठक आज बिहानका लागि सारिएको थियो । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल हुने बताइएको छ ।
केही दिनअघि मात्र रवि लामिछाने नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता बोलाएको थियो भने सुदूरपश्चिममा सत्ता गठबन्धन समर्थनमा बनेको नेकपा एमाले नेतृत्वको सरकारले बिहीबार विश्वासको मत पाउन सकेन । यी विषयमा आजको बैठकमा छलफल हुनेछ ।
साथै बैठकमा राष्ट्रपति निर्वाचन र गठबन्धनमा देखिएको मतभेदका सन्दर्भमा पनि छलफल हुने बताइएको छ । निर्वाचन आयोगले फागुन २५ मा राष्ट्रपति निर्वाचन मिति तोकिसकेको छ ।



