काठमाडाैं । काठमाडौं जिल्ला अदालतले बलात्कार तथा जघन्य अपराधको मुद्दा फास्टट्रयाक सुनुवाइबाट सुरु गरेको छ । शुक्रबार बलात्कारका दुईवटा मुद्दा फास्टट्रयाकबाट सुनुवाइ गरिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका अध्यक्ष सूर्यराज दाहालले अब बलात्कार तथा जघन्य अपराधको मुद्दा अदालतमा पेस गर्दा साक्षी पनि सँगै पेस गर्ने र बकपत्र पनि लिइने जानकारी दिए । पीडितलाई तत्काल न्याय दिलाउन तथा दोषीलाई उम्कन नदिन शुक्रबारबाटै छुट्टै इजलास गठन भएर सुनुवाइ सुरु भएको दाहालले जानकारी दिए । यो खबर आजको नयाँ पत्रिका दैनिकमा निराजन पौडेलले लेखेका छन्
देशभर बलात्कारका घटना बढेपछि महान्यायाधिवक्ता अग्नि खरेलको निर्देशनमा मुख्य जिल्ला न्यायाधीश रमेशराज पोखरेल, सरकारी वकिल कार्यालका अध्यक्ष दाहाल, मुद्दाको अनुसन्धान गर्ने केन्द्रीय अनुसन्धान ब्युरोका डिआइजी नारायण खड्का र प्रहरी परिसर काठमाडौंका प्रमुख वसन्त लामाबीच छलफलपछि द्रुत न्यायको अभ्यास थालिएको हो ।
फौजदारी कार्यविधि नियमावली नियम ९६ को अनुसूची ३० मा जघन्य किसिमको अपराध जर्बजस्ती करणी, जुनसुकै प्रकारको भेदभाव, गर्भ संरक्षण, अपहरण तथा शरीरबन्धकको मुद्दालाई छुट्टै इजलास गठन गरेर फास्टट्रयाकमा सुनुवाइ हुने उल्लेख छ । त्यस्तै, राजपत्रमा सूचना प्रकाशित गरेर अन्य मुद्दालाई पनि फास्टट्रयाकबाट फैसला गर्न सकिने उल्लेख छ ।
बलात्कारका मुद्दामा सुरुमा अभियोग लगाउँदा सुल्टो हुने र समय बित्दै गएपछि प्रमाण मेटिने, उल्टो बयान हुने मुद्दा प्रभावित हुने र पीडितले न्याय नपाउने समस्या देखिएपछि छिटो न्याय दिन फास्टट्रयाक सुनुवाइको निर्देशन दिएको महान्यायाधिवक्ता खरेलले बताए ।
प्रतिकृया दिनुहॊस