ज्योतिषविज्ञ प्राध्यापक काफ्लेको निधन

काठमाडौं । आध्यात्मिक दर्शन, गणित तथा फलित ज्योतिषका विद्वान् प्राध्यापक लालमणि काफ्लेको निधन भएको छ । काफ्ले नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत वाल्मीकि विद्यापीठ काठमाडौंमा अध्यापनरत हुनुहुन्थ्यो । ओखलढुंगा जिल्ला, हाल मोलुङ गाउँपालिका राम्पुरका स्थायी बासिन्दा काफ्लेको हाल काठमाडौं वसुन्धारामा बसोवास थियो ।

गत एक महिना पहिले आफ्ना पिताजीको निधनको दशौं दिनको कार्य सम्पन्न गर्दै गर्दा अकस्मात् मुच्र्छित हुनुभएका काफ्लेको उपचार शिक्षण अस्पताल महाराजगञ्जमा भइरहेको थियो । एक महिनासम्म अनवरतको प्रयास असफल भएपछि सोमबार राति काफ्लेको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । ६३ वर्षीय काफ्लेको पार्थिव शरीरको पशुपतिआर्यघाटमा मंगलबार दाहसंस्कार गरिएको थियो ।

काफ्लेका एक श्रीमती सुमित्रा र एक छोरा अनुपम, एक छोरी अनुश्री हुनुहुन्छ ।

काफ्ले लोकतान्त्रिक आन्दोलन र विचारमा अत्यन्त प्रतिबद्ध हुनुहुन्थ्यो । वाल्मीकि विद्यापीठका प्राचार्य प्रा.डा. भागवत ढकाल र प्रजातन्त्रवादी प्राध्यापक संघ वाल्मीकि इकाइका सभापति मुरलीधर दाहालले काफ्लेको निधनमा शोक श्रद्धाञ्जलि प्रकट गर्दै शोकसन्तप्त परिवारजनलाई समवेदना प्रकट गर्नुभएको छ । काफ्लेको निधनमा विद्यापीठले यही शक्रवार २० गते शोक सभा र २२ गते शोकबिदा गर्ने जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री