कता गयो एनजिओले विदेशबाट भित्र्याएको २० अर्ब ?

काठमाडाैं । गैरसरकारी संस्था (एनजीओ) ले एक वर्षमा विदेशबाट २० अर्ब रुपैयाँभन्दा बढी भित्र्याए । त्यत्रो रकम कहाँ गयो, केमा खर्च भयो, राज्य बेखबर छ । नेपालका ७ सय २३ एनजीओलाई २०७४/७५ मा उक्त रकम ल्याउन समाजकल्याण परिषद्ले अनुमति दिएको थियो ।

तिनको अनुगमन गर्ने काम पनि परिषद्कै हो । तर, ऊ चुपचाप बसेको छ । सागर पण्डितले आजको अन्नपूर्ण पोस्टमा खबर लेखेका छन् । ‘अर्बौं रकम विदेशवाट आइरहेको छ । त्यो कहाँ र कसरी खर्च भइरहेको छ भन्ने जानकारी नहुनु दुखद हो’, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव बुद्धिबहादुर खड्काले भने, ‘अब राज्यस्तरबाटै सशक्त संयन्त्र बनाएर एनजीओमार्फत आउने अर्बौं रकमको सदुपयोग सम्बन्धमा नियमित अनुगमन गर्न जरुरी छ ।’

परिषद् उक्त मन्त्रालयअन्तर्गत पर्छ । यसको अध्यक्ष मन्त्री हुन्छन् । एनजीओहरूले गएको आर्थिक वर्ष १ हजार १ सय ८१ योजना सञ्चालन गरेको कागज देखाएका छन् । त्यसका लागि विदेशबाट ल्याएको २० अर्ब २९ लाख ७४ हजार रुपैयाँ खर्चिएको दाबी गरेका छन् । अधिकांश गोष्ठी, सेमिनार र तिनको नक्कली तथ्यांक बनाएर बजेट सक्ने गरेको सरकारी अधिकारीहरू नै बताउँछन् ।

परिषद्का पदाधिकारी स्वयं यसमा बुझ पचाउँछन् । ‘पदाधिकारी र कर्मचारीमा सुशासनको भावना विकास हुन नसक्दा समस्या भएको हो’, परिषद्का कोषाध्यक्ष बीरबहादुर ठगुन्नाले भने, ‘समाज कल्याण परिषद्को संरचना र कानुनमा आमूल सुधार र परिवर्तन नहुँदासम्म समस्या यथावत् रहनेछ ।’ अनुगमनका नाममा उल्टै अनियमितताको चाङ रहेको मानिने परिषद् यतिबेला आफैं थला परेको छ ।  सदस्यसचिव डिल्लीराज भट्टलाई जिम्मेवारीबाट अलग गरेर उनीमाथि सरकारले छानबिन गरिरहेको छ ।

उनले अनियमितता गरेको भन्दै सरकारले जाँचबुझ आयोग गठन गरेको छ। आयोगका अध्यक्षमा विशेष अदालतका पूर्वन्यायाधीश मोहनरमण भट्टराई छन् । उनको ५ सदस्यीय टोलीलाई परिषद्को पुनर्संरचनाका लागि प्रतिवेदन तयार पार्नसमेत जिम्मेवारी दिइएको छ । ‘परिषद्मा आमूल सुधार नहुँदासम्म विदेशबाट आएको पैसाको प्रभावकारी अनुगमन हुन सक्दैन’, सचिव खड्काले भने, ‘रकमबारे परिषद्सँग विस्तृत विवरण माग गरिएको छ । अब रकम र कामको लेखाजोखा गर्नु अत्यावश्यक छ ।’

परिषद्ले तयार पारेको खर्चको प्रतिवेदनअनुसार विभिन्न नाममा एउटै संस्थाले दातृ निकायबाट १० देखि २० करोड रुपैयाँसम्म ल्याएका छन् । महिला, बालबालिका, मानव अधिकार, गरिब जनताको कल्याण, शिक्षाको विकास, सामुदायिक विकास, स्वास्थ्य, सुरक्षित मातृत्व, मिडिया एडभोकेसी, खोज पत्रकारिता, राजनीतिक आर्थिक विकास, अपांगको सहयोगजस्ता विषयमा रकम भित्रिएको छ । अघिल्ला वर्षहरूका समेत जोड्दा खर्बौं रकमको उपयोगिता भने केही देखिएको छैन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एमाले सांसद लिलाबल्लभविरुद्ध मुद्दा नचल्ने निर्णय, ११ जनाविरूद्ध मुद्दा दर्ता

काठमाडौं । मानव तस्करीको आरोपमा हिरासतमा रहेका नेकपा एमाले प्रदेश सांसद लिलाबल्लभ अधिकारीले उन्मुक्ति पाउने …

प्रतिकृया दिनुहॊस