अपराधमा संलग्न मान्छेलाई पार्टीहरुले काखी च्याप्नुको कारण के हो ?

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले राजनीति गर्ने मान्छे, पार्टी, नेता, सांसद, मन्त्रीप्रति जनताको विश्वास-श्रद्धा पटक्कै नभएको दाबी गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद केसीले निर्दलीय व्यवस्था पक्षधरहरूले पनि राजनीतिक दलहरूप्रति घृणा फैलाइरहेको र अर्कोतिर राजनीतिक पार्टीहरूमा पनि विभिन्न खालको अपराधमा संलग्न मान्छेहरू आबद्ध रहेको जनताले देखिरहेको बताए । फौजदारी मुद्दा लागेको मान्छेलाई पनि आफ्नो पार्टीमा हुल्ने नयाँ चलन नभएको बताउँदै दक्षिण एसियाका देशहरूमा सामाजिक अपराधीहरू कारबाही गर्नुको सट्टा उनीहरूलाई राजनीतिक दलहरूले काखी च्याप्नुको कारण के हो भन्दै प्रश्न गरेका छन् ।

अपराधीलाई काखी च्याप्दा पार्टीको बदनाम, प्रणालीको नै बदनाम भइरहेको बताउँदै उनले भने, ‘विधिको शासन चलाउने भनेको त जुन औँलामा विष लाग्छ त्यो औँला त झर्छ नि । त्यसकारण यो संसदीय व्यवस्थालाई जनताप्रति आस्था जगाउने हो भने चाहे आफ्नो पार्टीको कार्यकर्ता होस, चाहे नेता होस, दूधको दूध, पानीको पानी, उसको कसुर अनुसार कारबाही गराउने कुरामा हामी प्रतिबद्ध हुनुपर्छ । हामीले हाम्रो सीमित दलगत स्वार्थका लागि आफ्नो पार्टीको मान्छे दोषी छ, खराब छ भने त्यसलाई जसरी पनि जोगाउने, त्यसैमा अर्को पार्टीको छ भने त्यसलाई किक आउट गर्ने यसले के गर्छ ? यसले विधिको शासन हैन मनपरी तन्त्र हुन्छ त्यसैले समयमै हामी चिन्नुपर्ने अवस्था छ ।’

उनले लडेर ल्याएको गणतन्त्र, लोकतन्त्र र संसदीय व्यवस्थालाई जोगाउन सक्छौं कि सक्दैनौं भन्ने अग्निपरीक्षामा रहेको बताएका छन् । यस्तै सभामुखलाई बधाई दिँदै सांसद केसीले सभामुखको भूमिका ‘बैदार हुन सजिलो छ सही बुझाउन गाह्रो’ भनेजस्तै चुनौतीपूर्ण रहेको बताए । लामो समय राजनीतिक पार्टीसँग आबद्ध रहेको व्यक्ति संसदभित्र बसेर तटस्थ बसेर सभामुखको भूमिका निर्वाह गर्न गाह्रो रहेको उनको भनाई छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

उपेन्द्र यादवले दिए निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दायर …

प्रतिकृया दिनुहॊस