प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कांग्रेसको निर्णय

काठमाडाैं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । आज नयाँ बानेश्वरमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि कांग्रेस प्रतिपक्षमा बस्ने सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिँदै छन् ।

१० पुसमा प्रधानमन्त्रीमा नियुक्त भएमा उनले एक महिना अगावै विश्वासको मत लिन लागेका हुन् । प्रचण्ड १० पुसमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए ।

गठबन्धन सरकारका प्रधानमन्त्रीले प्रतिनिधिसभाको विश्वास लिनुपर्ने संवैधानिक प्रावधानअनुसार प्रचण्डले आज विश्वासको मत लिन लागेका हुन् । २७५ सदस्यीय प्रतिनिधिसभाको विश्वास लिन प्रधानमन्त्रीले १३८ सांसदको समर्थन पाउनुपर्छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री