काठमाडौं । प्रतिनिधिसभाको नयाँ कार्यकालको पहिलो बैठक आज बस्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो १ बस्ने गरी प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन् । गएको निर्वाचनबाट निर्वाचित भएर आएका प्रतिनिधिसभा सदस्यको पहिलो बैठक बस्न लागेको हो ।
आजको बैठकको शुरुवातमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् । त्यसपछि राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदमा नियुक्ति तथा मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाइने सम्भावित कार्यसूची छ ।
ज्येष्ठ सदस्यले सभामुखको अनुपस्थितमा बैठकको अध्यक्षता गर्न सांसदहरूको मनोनयन गर्नेछन् । अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा शीर्ष नेताहरूले मन्तव्य राख्ने छन् । केही शोक प्रस्ताव समेत प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ । नयाँ सभामुख निर्वाचित नहुञ्जेल ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले बैठक सञ्चालन गर्नेछन् ।
यी नेताहरूले गर्नेछन् सम्बोधन
संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूले आज बैठकलाई सम्बोधन गर्ने कार्यसूची छ । संसदमा १२ दलको प्रतिनिधित्व छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादव, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।
पुस २६ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यक्रम छ। त्यसबारे आजै संसदलाई ज्येष्ठ सदस्य जबराले जानकारी गराउनेछन्। प्रतिनिधि सभामा २७५ जना सांसद छन्।




