काठमाडाैँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट सादा पोसाकमा परिचालन हुने प्रहरीको विवरण माग गरेपछि दुवै संगठनमा खैलाबैला मच्चिएको छ । गत पुस १८ मा गृहमन्त्री लामिछानेले दुवै संगठनका सादा पोसाकका प्रहरीको विवरण माग गरेपछि सादा पोसाकमा खटिएका प्रहरीहरु अत्यन्त त्रसित देखिएका छन् ।
यसै क्रममा सशस्त्र प्रहरी बलले देशभरका सादा पोसाकमा खटिएका सशस्त्र प्रहरीलाई काज सरुवा गरेको छ । काज सरुवा हुनेमा सशस्त्र प्रहरी नायब निरीक्षक ५ जना, सशस्त्र प्रहरी सहायक निरीक्षक ७ जना, वरिष्ठ हवलदार १८ जना, कामु वरिष्ठ हवलदार ३ जना, हवलदार २० जना, सहायक हवलदार ६३ जना र सिपाही १८ जना गरी १३४ जना रहेका छन् ।
काज सरुवा भएका १३४ मध्ये मधेश प्रदेशबाट विभिन्न पदका ३६ जना रहेको बुझिएको छ। सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले गत जेठ ६ मा मातहतका कुनै पनि कार्यालयले सादा पोसाकमा घुमुवा खटाएको भए तुरुन्त फिर्ता गर्न निर्देशन दिएका थिए । महानिरीक्षक अर्यालले निर्देशन दिए पनि केही कार्यालयले आवश्यकता छ भन्दै सादा पोसाकमा सूचना संकलन गर्न प्रहरी परिचालन गरेका थिए ।
सादा पोसाकमा सशस्त्र प्रहरीको कुनै पनि कर्मचारी नखटाउन दिइएको निर्देशनलाई मातहतका केही कार्यालयले फरक तरिकाले बुझेर अटेर गरेको गुनासो बढेको थियो । एकै दिनमा देशभरका १३४ सादा पोसाकका सशस्त्र प्रहरी कर्मचारीको काज सरुवासँगै तिन दिनभित्र सरुवा भएको ठाउँमा हाजिर गर्न निर्देशन भएपछि सबैतिर खैलाबैला मच्चिएको छ । गत बुधबार सशस्त्र प्रहरी बलले एक साथ १३४ सादा पोसाकको काज सरुवाले कर्मचारीहरु डराएका छन् । –नागरिक दैनिकबाट




