काठमाडाैं । सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । प्रदेश प्रमुख जोशीले हप्ताको समय दिएर दाबी पेश गर्न आह्वान गरेका हुन् ।
प्रदेशसभामा कुनै एक दलको बहुमत नभएकाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सुदूरपश्चिम प्रदेशको प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नका लागि उनले सात दिनको समय सीमा राखेर आव्हान गरेका हुन् । मुख्यमन्त्री नियुक्तिका लागि पुस २७ गते साँझ ५ बजेसम्मको समय निर्धारण गरिएको छ ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार गठनका लागि २७ जनाको समर्थन चाहिन्छ । यहाँ ठूलो दल नेपाली कंग्रेसको १९, नेकपा माओवादी केन्द्रको ११, नेकपा एमालेको १०, नागरिक उन्मुक्ति पार्टीको ७, नेकपा एकीकृत समाजवादीको ४, राप्रपाको १ र एक जना स्वतन्त्र सांसद छन् ।




