काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक एक साता पछि सरेको छ । सभापति शेरबहादुर देउवाले चुनावको समीक्षा र समसामयिक राजनीतिक विषयमा छलफल गर्न यही शुक्रबारदेखि बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक बोलाएका थिए । तर प्रतिनिधिसभाको अधिवेशन पुस २५ देखि प्रारम्भ हुने भएपछि सभापति देउवाले पार्टीको बैठकलाई संसदको अधिवेशनभन्दा पछि सारेका हुन् ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले २२ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक २८ पुसका लागि स्थगित भएको र २३ पुसमा संसदीय दलको बैठक बोलाइएको जानकारी दिए । उनकाअनुसार २३ पुसको दिउँसो १ बजे सिंहदरबारस्थित दलको कार्यालयमा संसदीय दलको बैठक बस्नेछ ।
दलका नेतासमेत रहेका देउवाले दलको मुख्य सचेतकमा रमेश लेखकलाई मनोनीत गरेका छन् । सचेतक भने मनोनयन गर्न बाँकी छ । चुनावमा गठबन्धन गरेर ८९ सिटसहित पहिलो दल बनेको कांग्रेसले आफ्नै नेतृत्वको गठबन्धन जोगाउन नसक्दा केन्द्र र सातै प्रदेशमा सत्ताविमुख हुन पुगेको छ । त्यसबारे निर्णय प्रक्रियामा सभापति देउवाले कमजोरी गरेको भन्दै नेताहरुले असन्तुष्टि पोखिरहेका छन् ।




