काठमाडाैँ । दूधको मूल्य समायोजनबारे अध्ययन गरेर नयाँ मूल्य तोक्ने सहमतिपछि डेरी व्यवसायीले बढाइएको दूधको मूल्य फिर्ता लिएका छन् ।
डेरी उद्योगीले पुस १६ गतेदेखि दूधको मूल्य प्रतिलिटर १६ सम्म बढाएका थिए । लगत्तै पुस १७ गते दुग्ध विकास बोर्डले मूल्यवृद्धि स्थगन गर्न व्यवसायीलाई निर्देशन दिएको थियो तर व्यवसायी मूल्यवृद्धि फिर्ता नहुने बताइरहेका थिए । मंगलबार कृषि तथा पशुपंक्षी मन्त्रालयमा पशु सेवा विभाग, राष्ट्रिय दुग्ध विकास बोर्ड र डेरी व्यवसायीबीच छलफल भएकोमा मूल्य समायोजनका लागि तत्काल अध्ययन गरिने र अहिले भएको मूल्यवृद्धि फिर्ता गर्ने सम्झौता भएको हो ।
‘पुस १६ गतेदेखि लागू गरिएको दूधको मूल्य तत्काल स्थगन गर्ने सहमति भएअनुरुप किसानको बढ्दो उत्पादन, मुद्रास्फीति, इन्धन, प्याकेजिङ, कर्मचारीको ज्याला, ब्याजदरमा भएको वृद्धि समेतलाई विचार गरी जति सक्दो छिटो दूधको मूल्य समायोजन गर्न विज्ञ टोली गठन गरी नयाँ दरभाउ कायम हुने विश्वासका साथ केही समयका लागि वृद्धि गरिएको दूधको मूल्य तत्कालका लागि स्थगन गरिएको छ’, डेरी उद्योग सङ्घले मङ्गलबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।




