काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन् । प्रतिनिधिसभाको पहिलो बैठक २५ गते बस्दैछ ।
प्रधानमन्त्री दाहालले संसद्का महासचिवलाई सम्बोधन गर्दै विश्वासको मत लिने प्रयोजनका लागि व्यवस्था मिलाई दिन अनुरोध गरेका छन् । उनले २६ गतेको बैठकमा विश्वासको मत लिने कार्यसूची राखिदिन महासचिवलाई आग्रह गरेका छन् । प्रधानमन्त्री दाहालले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।
सरकार गठनका क्रममा नेकपा माओवादी केन्द्रलाई नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीले समर्थन गरेपछि प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बनेका हुन् । राप्रपाले सरकारमा जाने निर्णय गरिसकेको छ भने जसपाले सरकारलाई समर्थन गरे पनि सहभागिताको विषयमा भने केही निर्णय गरेको छैन ।




