काठमाडौँ । नेपाल निजामती कर्मचारी युनियन, शहरी विकास मन्त्रालय विभागीय कार्य समितिले शहरी विकास मन्त्रालयमा सरुवा भई आउनु भएका सचिवलाई एक कार्यक्रमका बिच स्वागत तथा सम्मान गरेको छ । बुधबार मन्त्रालयमा विभागीय कार्य समितिका अध्यक्ष अनिलकुमार प्रधानको अध्यक्षमा भएको कार्यक्रममा मन्त्रालयका सचिव सुरेश आचार्यलाई स्वागत तथा सम्मान गरिएको हो ।
कार्यक्रममा युनियनका विभागीय अध्यक्ष प्रधान र आधारित ट्रेड युनियनका अध्यक्ष सुरेन्द्रराज आचार्यले सचिवको सफल कार्यकालको शुभकामनाका साथै विभागको बस्तुस्थितकोबारे जानकारी गराएका थिए । कार्यक्रममा करार कर्मचारीहरूको सन्दर्भमा नवीकरण हुने समस्या, लोकसेवाबाट आएका स्थायी कर्मचारीहरूलाई दरबन्दी मिलान तथा करारमा कार्यरत कर्मचारीको उचित व्यवस्थापनको लागि पहल गर्नु पर्ने विषयमा चर्चा गरेका थिए ।
कार्यक्रममा सचिव आचार्यले शहरी विकास मन्त्रालयको विभाग अन्तर्गत विभिन्न आयोजना मार्फत ७७ वटै जिल्लामा काम गरी रहकोले शहरी विकास मन्त्रालय महत्त्वपूर्ण मन्त्रालय भएको बताएका थिए । उनले सबैसँग परामर्श तथा सल्लाह बमोजिम काम गर्ने भएकोले सबैको सहयोग अनिवार्य रहेको बताए । उनले कतै बढी र कतै कर्मचारी हुने गरेकोले आवश्यक ठाउँमा कर्मचारी परिचालन गरी व्यवस्थापन गरिने बताए ।
कार्यसमिति सचिव डम्मर बमले सञ्चालन गरेको कार्यमा महाधिवेशन प्रतिनिधि प्रकाश न्यौपाने, कोषाध्यक्ष सन्तोष कार्की लगायतले शुभकामना व्यक्त गरेका थिए ।




