प्रधानमन्त्री प्रचण्डलाई बेइजिङबाट बधाई

एजेन्सी । नेपालको नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बेइजिङबाट पनि बधाई आएको छ ।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले सोमबार पत्रकार सम्मेलनमा दाहाललाई बधाई दिँदै नेपाल सरकारसँग द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन चीन इच्छुक रहेको बताएकी हुन् । चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार नेपालको निर्वाचन सहज रूपमा सम्पन्न भएको चीनले देखेको र चीनले दाहाललाई नयाँ प्रधानमन्त्री बन्न सफल भएकोमा बधाई दिएकोमा विदेश मन्त्रालयकी प्रवक्ता माओले बताएको उल्लेख गरिएको छ ।

नेपाल सरकार र जनताको संयुक्त प्रयास र विभिन्न दल र राजनीतिक शक्तिको परामर्श र समन्वयबाट नेपालमा स्थायित्व र आर्थिक तथा सामाजिक विकास हुने विश्वास चीनले दिएको माओले बताएकी छन् । परम्परागत मित्र छिमेकी भएको नाताले चीनले नेपाल–चीन सम्बन्धलाई ठूलो महत्त्व दिएको र दुई देशबीचको मैत्रीपूर्ण आदान–प्रदान र सहयोगलाई विभिन्न क्षेत्रमा विस्तार र गहिरो बनाउन नेपालको नयाँ सरकारसँग काम गर्न इच्छुक रहेको प्रवक्ता माओले बताइन् ।

दुई देशले संयुक्त रूपमा उच्च गुणस्तरको ‘बेल्ट एन्ड रोड’ सञ्जाल निर्माण गर्ने र चीन–नेपाल मित्रताको पुस्तादेखि पुस्ताको विकास र समृद्धिमा नयाँ प्रेरणा दिने माओले बताइन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री