काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसलाई अहिलेको राजनीतिक घटनाक्रममा फ्रान्सेली स्टाइकर एम्बाप्पेसँग जोडेका छन् । पोखरामा जारी नेपाल लिटरेचर फेस्टिवलमा उनले एम्बाप्पेले सबैभन्दा बढी गोल गरेपनि फुटवलको वर्ल्डकप अर्जेन्टिनाले लगेको भन्दै कांग्रेसले चुनावमा धेरै सीट जितेपनि प्रधानमन्त्री अर्कोले लगेको बताए ।
‘वर्ल्डकपमा सबैभन्दा बढी गोल एम्बाप्पेले हाने । मंसिर ४ को निर्वाचनमा कांग्रेसले सबैभन्दा धेरै सीट जित्यो,’ उनले भने, ‘तर एम्बाप्पेले सबैभन्दा धेरै गोल हाने, गोल्डेन बुट पनि जिते । कप चाहीँ अर्कैले लग्यो । त्यसकारण हामी चाहिँ एम्बाप्पे भएर आएको हो, कप अर्कैले लग्यो ।’
उनले ५ वर्षपछि भने कांग्रेस एक्लै च्याम्पियन बन्नेगरी तयारीमा लाग्ने बताए । ‘५ वर्षपछि हामी च्याम्पियन बन्छौं,’ अघि भन्छन्, ‘मैले भनेको छु देशबासीलाई, डण्ट वरी । जव भत्किन्छ तव निर्माण हुन्छ । जे भएको छ, ठिकै भएको छ ।’
शर्माले अहिलेको गठबन्धनबारे टिप्पणी गर्दै यसको मिश्रण केही समयपछि थाहा हुने बताए । ‘अहिले भएको कुरालाई अहिले बुझिँदैन, पछि बुझिन्छ । जे मिश्रण भएर सरकार बनेको छ, यो सरकारलाई शुभकामना दिँदै गर्दा कांग्रेसले बडो गम्भिरताका साथ अवको यात्रा गर्छ,’ उनले भने ।




