काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आइतबार बालुवाटारमा बसेको बैठकपछि सत्तारुढ गठबन्धन लगभग टुटेको प्रतिक्रिया दिएका छन् । गठबन्धनमा सहमति हुन नसकेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘अब गठबन्धनको औचित्य सकियो’ भन्दै बैठकस्थल छाडेका छन् ।
वरिष्ठ नेता पौडेलले परिस्थिति नियन्त्रण बाहिर जान्छ कि भन्ने डर लागेको बताएका छन् । प्रचण्ड बालुवाटारको बैठक छाडेर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न भन्दै हिँडेपछि पौडेलले यस्तो टिप्पणी गरेका हुन् । उनले भने, ‘हाम्रो हातबाट सबैथोक जान्छ कि भन्ने डर छ, के हुन्छ यो देशको अवस्था मलाई चिन्ता छ ।’
उनले थपे, ‘हामीले गठबन्धन जोगाउन सकेनौं । अब हाम्रो हातमा केही रहेन,’ पौडेलले भने । पौडेलले यसअघि गठबन्धन जोगाउन आफै दौडधूप गर्दै आएका थिए । गठबन्धनमा पहिलो पटक कसले पहिले सरकारको नेतृत्व गर्ने विषयमा विवाद रहेको थियो । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र दुवैले आफूले पहिले सरकारको नेतृत्व गर्न पाउनु पर्छ भन्दै आइरहेका थिए ।




