काठमाडाैं । तेजाब आक्रमणमा घाइते भई उपचाररत रौतहटकी किशोरी सम्झना दासको मृत्यु भएको छ । आइतबार राति ११ बजेर ४० मिनेटमा १८ वर्षीया सम्झनाको कीर्तिपुर अस्पतालमा निधन भएको हो । उनको आइसीयूमा उपचार भइरहेको थियो ।
सम्झनाकी बहिनी १५ वर्षीया सुस्मिताको भने अवस्था सामान्य छ । उपचारपछि उनलाई डिस्चार्ज गर्ने तयारी गरेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । उपचारमा संलग्न एक चिकित्सकका अनुसार सम्झनाको शरीर ३५ प्रतिशत भन्दा बढी जलेको थियो । यस्तो अवस्था चिकित्सकीय भाषामा ‘मेजर बर्न (गम्भीर जलेको) हो ।
मेडिकल भाषामा ‘सेप्सिस’ (संक्रमण) अवस्थामा रहेकी उनको स्वासप्रस्वास प्रणालीले काम गर्न छोडेपछि निधन भएको अस्पतालका प्रवक्ता डा. सुरेन्द्रजंग बस्नेतले जानकारी दिए ।
घरमा सुतिरहेको अवस्थामा उनीहरूलाई भदौ २६ गते मंगलबार राति करिब १२ बजे अपरिचित व्यक्तिले तेजाब फ्याँकेका थिए । घाइते भएका दुवैजनालाई रौतहटको चन्द्रपुर अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाडौं ल्याइएको थियो ।
रौतहट चन्द्रपुर ६ का दास दिदीबहिनी स्थानीय जनज्योति माविमा ७ कक्षा र ६ कक्षामा अध्ययनरत थिए । मृतक सम्झनाको सोमबार त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरी शव परिवारको जिम्मा लगाउने तयारी भएको अस्पतालले जनाएको छ ।
प्रतिकृया दिनुहॊस